काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहको क्रेज झापामा लोभलाग्दो देखिएको छ। यतिबेला उम्मेदवारी मनोनयन दर्ताका लागि बालेन झापा पुगेपछि झापाबासी, रास्वपाका नेता–कार्यकर्ता र समर्थकहरूको बाक्लो भिड लागेको छ। समर्थकहरूको अत्यधिक उपस्थितिका कारण बालेनलाई निर्वाचन अधिकृतको कार्यालय पुग्न समेत हम्मेहम्मे भएको थियो।
“म नेपाल हाँसेको हेर्न चाहन्छु” भन्ने बालेन शाहको र्याप गीत झापाका विभिन्न स्थानमा गुञ्जिरहेको छ। बालेनलाई दरिलो साथ दिन झापा–५ मात्र होइन, समग्र झापाका बासिन्दा बस्ती–बस्तीबाट उठेर आएका देखिन्छन्। बालेन शाहको समर्थनमा नाराबाजी भइरहेको छ।
बालेन शाह स्वयं गाडी चलाउँदै अघि बढ्दा बाटोभरि हजारौँ कार्यकर्ताहरूको उल्लासमय साथ रहेको थियो। उक्त क्षेत्रमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि उम्मेदवार छन्। ओलीले दिउँसो १ बजे आफ्नो उम्मेदवारी दर्ता गराउने कार्यक्रम रहेको जानकारी उनको सचिवालयले दिएको छ।
बालेन शाहले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत आफू झापा–५ पुगेको जानकारी गराएका छन्। झापा क्षेत्र नम्बर ५ अहिले राष्ट्रिय राजनीतिको केन्द्रबिन्दु बन्दै गएको छ। धेरैको नजर र चासो अन्य क्षेत्रभन्दा झापा–५ मै केन्द्रित देखिन्छ।
पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन शाहबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने भएपछि यस क्षेत्रलाई ‘इलेक्सन एपिसेन्टर’का रूपमा हेरिन थालिएको छ। फरक पुस्ता, फरक शैली र फरक राजनीतिक पृष्ठभूमिका यी दुई नेताबीचको भिडन्तले झापा–५ मात्र होइन, समग्र देशको ध्यान तानेको छ। चियापसलदेखि सामाजिक सञ्जालसम्म चुनावी बहस तातिएको छ।
लामो राजनीतिक विरासत बोकेको यस क्षेत्रमा यसपटक पनि ओलीलाई हराउने लक्ष्यसहित बालेन मैदानमा उत्रिएका छन्। यसैबीच केहीबेरमा बालेन शाह र केपी शर्मा ओलीले झापा–५ मा आफ्नो–आफ्नो उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ।
उम्मेदवारी दर्ताअघि पूर्वप्रधानमन्त्री ओलीले आज बिहानै सामाजिक सञ्जालमार्फत आज विशेष दिन भएको बताएका छन्। उनले लेखेका छन्,
“शुभ बिहानी! हाम्रो लागि आज एक विशेष दिन हो। हराएका र भत्किएका सपनाहरूलाई फेरि जगाउँदै, सुन्दर भविष्य निर्माण गर्ने सपनाको रोपाइँ आजबाट सुरु हुँदै छ। हामीलाई पूरा विश्वास छ—हामी नेपालीले जित्ने छौँ, नेपालले जित्ने छ। जलेका सपनाहरूलाई फेरि जागृत गर्दै नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउने छौँ। आउनुहोस्, यस यात्रामा हामी सबै मिलेर अगाडि बढौँ। हामी नेपाली सबैको जय होस्।”