काठमाडौँ। प्रचण्डलाई पत्र लेखेर एमाले/माओवादी केन्द्र छाडेका रहबर अन्सारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। जनकपुरमा आयोजित रास्वपाको ‘परिवर्तन उद्घोष सभा’ मा अन्सारीले औपचारिक रूपमा पार्टी प्रवेश गरेका हुन्।
अन्सारीले पार्टीसँगै मधेश प्रदेश सभाबाट पनि राजीनामा दिइसकेका थिए। उनले रास्वपाले परिवर्तनको सङ्कल्प लिएर आएको भन्दै अबको परिवर्तन रास्वपाबाटै सम्भव हुने बताए। अन्सारीले रास्वपाले मधेसका छोरा बालेन शाहलाई प्रधानमन्त्रीको रूपमा अघि सारेको पनि जिकिर गरे। उनी बारा–४ बाट चुनाव लड्ने तयारीमा छन्।
रास्वपाले मधेस प्रदेशमा संगठन विस्तार र जनाधार सुदृढ गर्ने क्रममा प्रभावशाली नेताहरूलाई पार्टीमा आवद्ध गराउँदै आएको छ। अन्सारीले एक महिनाअघि मात्रै माओवादी केन्द्रबाट राजीनामा दिएका थिए। माओवादी केन्द्रको प्रदेश सांसदका रूपमा कार्यरत रहँदा उनी विभिन्न सामाजिक तथा राजनीतिक मुद्दामा सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए। रास्वपाका नेताहरूले अन्सारीको प्रवेशले बारा जिल्लासहित मधेस प्रदेशमा पार्टीको संगठन थप बलियो हुने आशा व्यक्त गरेका छन्।
यस्तै, निवर्तमान प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंह पनि रास्वपामा प्रवेश गरेका छन्। माघ ५ गते माता सीताको जन्मस्थल जनकपुरधाममा आयोजित कार्यक्रममा उनले पार्टी प्रवेश गरेका थिए। उनलाई पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह ले खादा ओढाएर र झण्डा फहराएर स्वागत गरेका थिए।
स्वतन्त्र रहँदा देश र मधेसमा व्याप्त भ्रष्टाचार र कुशासनविरुद्ध आवाज उठाउँदै आएका सिंहले अब रास्वपामार्फत अझ सशक्त रूपमा अभियान अघि बढाउने बताएका छन्। उनले मधेसको हित, शिक्षा, स्वास्थ्य, रोजगारी र भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर राजनीति गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, देश र मधेसको समग्र विकास चाहने सबै नागरिकलाई रास्वपामा जोडिन आग्रह गरेका छन्।
‘परिवर्तन उद्घोष सभा’ मा हजारौंको संख्यामा सर्वसाधारण र पार्टी कार्यकर्ताहरू उपस्थित थिए। कार्यक्रममा रास्वपाका वरिष्ठ नेता एवं काठमाडौंका निवर्तमान मेयर बालेन शाह र पार्टी सभापति रवि लामिछाने ले विशेष सम्बोधन गर्ने कार्यक्रम थियो। सभालाई सम्बोधन गर्नुअघि दुवै नेताले उपस्थित जनसागरलाई अभिवादन गरेका थिए।
कार्यक्रम स्थलमा ‘घन्टी’ चुनाव चिह्न सहितका झन्डा फहराइएका थिए भने समर्थकहरूले बालेन र रविको पक्षमा नाराबाजी गरिरहेका थिए।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र–५ बाट उम्मेदवारी दिने घोषणा गरेका बालेनले मधेसको मुटु जनकपुरबाट आफ्नो औपचारिक चुनावी यात्रा सुरु गरेका छन्। यसअघि उनले जानकी मन्दिरमा पूजाअर्चना गर्नुका साथै सिराहाको लहान पुगेर मधेस आन्दोलनका सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गरेका थिए।