Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पूर्वराज्यमन्त्री गोविन्दनाथ उप्रेती ‘रातो बाघ’को ८२ वर्षको उमेरमा निधन

पूर्वराज्यमन्त्री गोविन्दनाथ उप्रेती ‘रातो बाघ’को ८२ वर्षको उमेरमा निधन

काठमाडौँ । पूर्वराज्यमन्त्री एवं पाका वामपन्थी नेता गोविन्दनाथ उप्रेती, जसलाई ‘रातो बाघ’को उपनामले चिनिन्थ्यो। उनको आज ८२ वर्षको उमेरमा निधन भएको छ। काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित आफ्नै निवासमा आज बिहान ३ बजे उनको निधन भएको हो।

लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित उप्रेतीको रेखदेख कोरोना महामारीको समयमा पत्नीको निधनपछि भतिजा विष्णुबहादुरले गर्दै आएका थिए।

‘रातो बाघ’ उपनामले चिनिने उप्रेती मध्यपूर्वी क्षेत्रको वामपन्थी आन्दोलनमा सक्रिय नेता थिए। राजनीतिक यात्राका क्रममा उनी तत्कालीन समयमा सांसद हुँदै श्रम राज्यमन्त्री बनेका थिए। उनी नेकपा (माले) बाट एमाले, त्यसपछि पुनः माले हुँदै पछिल्ला वर्षहरूमा नेकपा (माओवादी केन्द्र)मा आबद्ध भएर सक्रिय रहँदै आएका थिए।

काभ्रेपलाञ्चोक र विशेष गरी कोशीपूर्वी क्षेत्रको विकास निर्माणमा उप्रेतीको योगदान अतुलनीय मानिन्छ। वडाध्यक्ष मोतीलाल तामाङका अनुसार उप्रेतीको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरी दिउँसो दोलालघाटमा दाहसंस्कार गरिएको छ।

उनको निधनले काभ्रेको राजनीतिक र सामाजिक क्षेत्रमा अपूरणीय क्षति पुगेको छ। पूर्वसांसद शिवबहादुर देउजाले उप्रेतीलाई सम्झिँदै भावुक हुँदै भनेका छन् कि, “उहाँले देश र विशेष गरी काभ्रे जिल्लाका लागि गरेको योगदान कहिले भुल्न सकिन्न।”

यता, होमप्रसाद चौलागाईले भनेका छन् कि काभ्रेको बामपन्थी इतिहासमा गोविन्दनाथ केवल एउटा तस्विर मात्र नभई कम्युनिष्ट दस्तावेज पनि हुन्। आजको दिनमा जस्ता नेताहरूलाई हेर्दा धेरैलाई गर्व हुन्छ। कतिपय काभ्रेली भन्छन्, “हामी गोविन्द उप्रेतीहरूको मतदाता हौं, चेला हौं।”

उपेतीले आफ्नो राजनीतिक जीवनमा तीन पटक सांसद् भएर सेवा गरेका थिए र नेपाल सरकारको मन्त्रीको रूपमा श्रम राज्यमन्त्रीसम्म पुगिसकेका थिए। नागरिकका समस्यालाई आफूसँग जोड्ने, हक्की र स्वाभिमानी स्वभाव भएका उप्रेतीले कोसी पारी क्षेत्रको विकासमा उल्लेखनीय योगदान पुर्‍याएका थिए।

उहाँले सडक निर्माण अभियान चलाएर दुर्गम मानिने कोसी पारीका गाउँहरू सुगम बनाएका थिए। किसानलाई मल नपाउँदा गाडी रोकेर मल झार्न लगाउनु, नागरिकका समस्यामा अगाडि बढ्नु जस्ता कार्यहरूले उनलाई जनता माझ लोकप्रिय बनाएको थियो।

आज उहाँले यस धर्तीबाट बिदा लिएका छन्। लामो समय वृद्ध शरीर बोकेर पनि भुम्लु पौवा स्थित आफ्नो घरमा दिनचर्या बिताउँदै आएका उप्रेतीको योगदान र जुझारूपन स्मरणीय रहनेछ।

अन्त्यमा भन्नै पर्ने भयो—ढल्यो ‘रातो बाघ’! बामपन्थी आस्थाको काभ्रेली दस्तावेज, गोविन्दनाथ उप्रेती कमरेडलाई भावपूर्ण श्रद्धाञ्जली।