Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आशिका तामाङ रास्वपाबाट चुनाव लड्ने , धादिङ–१ बाट चुनावी मैदानमा

आशिका तामाङ रास्वपाबाट चुनाव लड्ने , धादिङ–१ बाट चुनावी मैदानमा

काठमाडौँ । सामाजिक अभियन्ता आशिका तामाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट टिकट पाएकी छिन्। आगामी फाल्गुण २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि धादिङ क्षेत्र नम्बर–१ बाट रास्वपाले उनलाई उम्मेदवार बनाएको हो।

सोमबार तामाङलाई रास्वपा पार्टी कार्यालयमा गणेश पराजुलीले औपचारिक रूपमा टिकट प्रदान गरेका थिए। रास्वपा केन्द्रीय सदस्य ओजस्वी थापाका अनुसार, तामाङ धादिङ–१ मा प्रत्यक्षतर्फको निर्वाचनमा भाग लिन लागेकी हुन्।

आशिका तामाङले आफूले धादिङ–१ बाट टिकट पाएको पुष्टि गर्दै भनिन्, “म अहिले रास्वपा पार्टी कार्यालय बनस्थलीमा छु। मैले धादिङ–१ को प्रत्यक्षतर्फको टिकट लिएँ।”

यसअघि उनी काठमाडौं क्षेत्र नम्बर ९ वा २ बाट स्वतन्त्र उम्मेदवारी दिने तयारीमा थिइन्। पछिल्ला केही दिन यता उनी राजनीतिक रूपमा सक्रिय हुँदै आएकी थिइन्। उनले समानुपातिक सूचीको विषयमा पनि विरोध जनाएकी थिइन्। केही दिनअघि उनले संसदीय चुनाव लड्ने विषयमा आफ्नो मत भोटिङ पोलमार्फत राख्न आग्रह गरेकी थिइन्। यसमा ९३ प्रतिशतले राजनीतिमा आउन सुझाव दिएका थिए भने ७ प्रतिशतले नआउन भनिएको थियो।

चलचित्र क्षेत्रबाट सामाजिक कार्यमा सक्रिय बन्दै आएको आशिका तामाङले जेन–जी आन्दोलनपछि सामाजिक सेवामार्फत नेपाली जनताको मन जितेकी छिन्। उनी बिस्तारै राजनीतिमा होमिने तरखर गर्दै थिइन्। कतिपयले उनलाई समर्थन दिए भने कतिपयले सामाजिक सेवामै सक्रिय रहन सल्लाह दिएका थिए।

रास्वपासँगको एकताअघि बालेन्द्र शाहले उनलाई समानुपातिक सूचीमा प्रस्ताव गरेका थिए, तर आशिकाले प्रत्यक्ष उम्मेदवार बन्ने निर्णय गरेकी थिइन्। बालेन उठ्ने चर्चासँगै सामाजिक सञ्जालमा उनका आलोचकहरूले आलोचना सुरु गरेका थिए। केहीले उनलाई भोट काट्न खोजेको आरोपसमेत लगाएका थिए।

तामाङले आफ्नो उम्मेदवारी घोषणापछि आएका आलोचनाप्रति असन्तुष्टि व्यक्त गर्दै सामाजिक सञ्जालमा नेपाली समाज र राजनीतिमा व्याप्त पितृसत्तात्मक सोचप्रति प्रश्न उठाएकी छिन्। उनी पछिल्लो केही वर्षदेखि सामाजिक कार्यमा सक्रिय छिन् र आफ्नो फाउण्डेशनमार्फत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका शहीद र घाइतेलाई सहयोग गरेकी थिइन्।