Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पूर्वप्रधानमन्त्रीका छोरा यज्ञजित शाहले छोडे एमाले , ओलीलाई लेखे भावुक पत्र

पूर्वप्रधानमन्त्रीका छोरा यज्ञजित शाहले छोडे एमाले , ओलीलाई लेखे भावुक पत्र

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. के. आई. सिंहका छोरा यज्ञजित शाहले एमाले पार्टी छोड्ने निर्णय गरेका छन्। उनले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष के. पी. शर्मा ओलीलाई पत्र लेख्दै पार्टीमा आफ्नो असन्तोष र विरोध व्यक्त गरेका छन्।

यज्ञजित शाह रुपन्देही–३ मा वासुदेव घिमिरेलाई उम्मेदवार बनाइएपछि असन्तुष्ट  सुनिएका थिए। उनले पत्रमा उल्लेख गरेका छन् कि,

“हिजै पार्टीको केन्द्रीय सचिवालयले फाल्गुन २१, २०८२ मा हुन गैरहेको आम निर्वाचनका लागि गरेको उम्मेदवार छनोटप्रति मेरो गहिरो असन्तोष र विरोध व्यक्त गर्न चाहन्छु। कार्तिक २०८२ मा हुने भनिएको रुपन्देही–३ को उपचुनावमा मेरो नाम सिफारिस भएको थियो। दुई महिनाभित्र किन त्यो सिफारिस अमान्य भयो, जबकि अन्य दलहरूले तिनै उम्मेदवारलाई कायम राखे, त्यसको स्पष्ट जवाफ छैन।”

उनी थप्छन् कि, पौष २० गते क्षेत्रीय समन्वय समिति बैठकको जानकारी समेत उनलाई नदिईकन, गुपचुप तरिकाले उम्मेदवारको सिफारिस गरिएको थियो। यो जानकारी उनले २६ पौष, २०८२ मा पार्टी केन्द्रीय कार्यालयमा गराएका थिए।

यज्ञजित शाहले भने, “रुपन्देही–३ मा म ४० वर्षभन्दा बढी बस्दै आएको छु र यहीँबाट चुनावमा उठ्ने मेरो इच्छा थियो। तर अन्तिम समयमा मलाई सोधपुछ नगरी क्षेत्र नम्बर–४ को लिस्टमा थपेर सिफारिस गरिएकोमा कडा आपत्ति छ। म त्यहाँ राजनीतिक रूपमा संलग्न छैन। मेरो नाम त्यहाँ समावेश गर्नु एउटा षडयन्त्रबाहेक केहि होइन। म चाहन्छु कि योग्य व्यक्तिले अवसर पाउन सकून् र उनीहरूको सफलता कामना गर्छु।”

उनले पार्टी उपाध्यक्ष विष्णु पौडेलको निर्देशनमा यी सिफारिसहरू गरिएको बताउँदै भावुक रुपमा भने, “पौडेल जी काठमांडूमा मेरो घर आएर अनेकन झूठा आश्वासन दिए। मैले पार्टीमा लगभग ९ वर्ष जीवन लगानी गरेको छु। म प्रतिनिधि सभा निर्वाचित पूर्वसांसद मात्र नभई देशभक्त नेता स्वर्गीय प्रधानमन्त्री डा. के. आई. सिंहका छोरा पनि हुँ।

यज्ञजित शाहले पार्टी नेतृत्वविरुद्ध आफ्नो गुनासो व्यक्त गर्दै थपेका छन्, “मैले आफ्नो शिक्षा र मेहनतबाट पार्टी नेतृत्वसामु माने राख्ने आशा गरेको थिएँ, तर त्यो सबै बेकार भयो। पार्टीमा बस्नु अब कुनै सार्थकता छैन। त्यसैले आजैको मितिदेखि मैले पार्टीको साधारण सदस्यताबाट राजीनामा दिएको छु।”

raajiinamaaa.jpg