काठमाडौं । सल्यानमा उम्मेदवार चयन गर्दा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले स्थापित नेताभन्दा नयाँ पुस्तालाई अघि सारेको छ। पार्टीले दुई जना पूर्वमन्त्रीलाई पन्छाउँदै युवा नेता रमेश मल्ललाई उम्मेदवार बनाएको हो।
अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष मल्ल पहिलोपटक संसदीय चुनावमा होमिन लागेका हुन्। यसअघि यही क्षेत्रबाट निर्वाचित प्रकाश ज्वालाले दाबी नछाडेपछि मात्र मल्ललाई टिकट दिने निर्णय भएको पार्टी स्रोतले जनाएको छ।
नेकपाले अधिकांश स्थानमा उम्मेदवार तय गरिसकेको भए पनि सल्यानसहित केही क्षेत्रमा निर्णय ढिला भएको थियो। २०७९ सालको निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धन हुँदा ज्वालाले जित निकालेका थिए। उनी हाल नेकपामै आबद्ध छन्।
जिल्लाबाट मल्ल, ज्वाला र पूर्वमन्त्री टेकबहादुर बस्नेतको नाम सिफारिस भए पनि अन्ततः पार्टीले मल्ललाई रोजेको हो। मल्ल यसअघि नेकपा अध्यक्ष प्रचण्डका स्वकीय सचिवको जिम्मेवारीमा रहेका थिए।