Shares
Shares
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता राजीव खत्री र नेकपा एमालेका सचिव महेश बस्नेतबीच आगामी निर्वाचनमा प्रत्यक्ष भिडन्त हुने भएको छ। रास्वपाले भक्तपुर क्षेत्र नम्बर–२ मा एमाले नेता बस्नेतविरुद्ध खत्रीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
खत्रीले सुरुमा काठमाडौं–१० बाट उम्मेदवारी दिने तयारी गरेका थिए। तर अन्ततः भक्तपुर–२ मा उनको उम्मेदवारी टुंगिएको हो। खत्री पूर्व सञ्चारकर्मीसमेत हुन्। सञ्चारकर्मीकै रूपमा सक्रिय रहँदा खत्री र बस्नेतबीच पटक–पटक वाकयुद्ध हुँदै आएको थियो।
जेन–जी आन्दोलनपछि बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) विरुद्ध आक्रामक अभिव्यक्ति दिँदै आएका छन्। यही पृष्ठभूमिमा बालेनले ‘जसरी पनि बस्नेतलाई पराजित गर्ने’ उद्देश्यसहित खत्रीलाई अघि सार्न चाहेको बुझिएको छ।
खत्रीले बस्नेतविरुद्ध तीखा टिप्पणी गर्दै आएका छन् भने बस्नेतले पनि खत्रीको नामै लिएर प्रतिउत्तर दिने गरेका छन्। दुवै नेताबीचको आपसी कटुताका कारण यो चुनावी भिडन्त थप रोचक हुने देखिएको छ। भक्तपुर–२ बस्नेतको परम्परागत निर्वाचन क्षेत्र हो भने खत्री काठमाडौं–१० का बासिन्दा हुन्। स्मरणीय छ, गत आमनिर्वाचनमा बस्नेत पराजित भएका थिए।
यता, रास्वपाले प्रतिनिधि सभा सदस्यका लागि थप निर्वाचन क्षेत्रहरूमा उम्मेदवार टुंगो लगाएको छ। हिजो रातिसम्म बसेको बैठकले नुवाकोट–१ मा डा. विक्रम तिमिल्सिना र नुवाकोट–२ मा डा. अच्युतम लामिछानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। दाङ क्षेत्र नम्बर–३ मा कमल सुवेदी उम्मेदवार चयन भएका छन्।
लमजुङमा धर्म केसी, झापा–१ मा निशा डाँगी, झापा–२ मा पूर्व उपसभामुख इन्दिरा राना मगर, झापा–३ मा प्रकाश पाठक, झापा–४ मा शम्भु सुस्केरा ढकाल र झापा–५ मा बालेन्द्र शाह (बालेन) उम्मेदवार छन्। नवलपुर–१ मा राजन गौतमले टिकट पाएका छन्।
त्यसैगरी, जुम्लामा विनिता कठायत, कञ्चनपुर–३ मा ज्ञानेन्द्र महता, दोलखामा इञ्जिनियर जगदीश खरेल, मोरङ–१ मा अधिवक्ता यज्ञमणि न्यौपाने र मोरङ–३ मा गणेश कार्की उम्मेदवार बनेका छन्। ओखलढुङ्गामा विश्वराज पोखरेल, स्याङ्जा–१ मा धनञ्जय रेग्मी, बाजुरामा हेमराज थापा, बागलुङ–२ मा जेन–जी युवा सोम शर्मा र रामेछापमा डा. कृष्णहरि बुढाथोकीलाई उम्मेदवार बनाइएको छ। तनहुँ क्षेत्र नम्बर–२ मा श्रीराम न्यौपाने र धादिङ क्षेत्र नम्बर–२ मा बोधनारायण श्रेष्ठले रास्वपाको टिकट प्राप्त गरेका छन्।
यता, रास्वपाले सञ्चारमन्त्री जगदीश खरेललाई ललितपुर–२ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनाउने तयारी पनि गरेको छ। फागुन २१ गते हुने निर्वाचनका लागि मन्त्री खरेलले राजीनामा दिएपछि उनलाई उम्मेदवार बनाइने तयारी भएको रास्वपा स्रोतले जनाएको छ। उनी राजीनामा दिने अन्तिम तयारीमा छन्।
यसैबीच, बब्लु गुप्ताले भने राजीनामा दिइसकेकी छन्। उनी सिरहा–१ बाट निर्वाचनमा उम्मेदवारी दिने भएकी छन्।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209