राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) त्यागेका सन्तोष परियार प्रगतिशील लोकतान्त्रिक पार्टीबाट बन्दसूचीको दलितर्फ पुरुषको पहिलो नम्बरमा परेका छन् । यसअघि रास्वपाबाट दलित क्लष्टरबाटै समानुपातिक संसद बनेका सन्तोष परियाले केही महिना अघि रास्वपा छाडेका थिए । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ बन्दसूची पेश गरेका ६३ दलका ३ हजार २ सय १३ उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गर्दा परियारको नाम प्रलोपाबाट दलित क्लस्टरमा पुरुषतर्फको पहिलो नम्बरमा परेको हो । सन्तोष परियारको साथमा महिला तर्फ दुर्गा सोब पनि समानुपातिकको पहिलो नम्बरमा बसेका बसेकी छन ।
बाबुराम भट्टराई संरक्षक रहेको प्रलोपामा सुदन किराती, ओजस्वी भट्टराई र सुरेन्द्रप्रसाद जैसवाल अध्यक्ष परिषद्मा छन् ।पार्टीका मुख्य नेता मध्ये दुई जना पहिलो नम्बरमा बसेका हुन् । उनी दलित महिला संघ फेडोको संस्थापक अध्यक्ष एवम राष्ट्रिय दलित आयोगकी पूर्व सदस्यसचिव समेत हुन् । रास्वपाका तत्कालीन केन्द्रीय सदस्य एवम तत्कालीन संसदीय दलका प्रमुख सचेतक परियार प्रलोपामा अध्यक्ष परिषद्का सदस्य हुन् । तत्कालीन माओवादीमा आवद्ध सोब डा.बाबुराम भट्टराईले माओवादी फुटाएर नयाँ शक्ति निर्माण गरेपछि उनैसँग माओवादीबाट बाहिरिएकी थिइन् । प्रलोपा बन्नुअघि उनी नेपाल समाजवादी पार्टी (नेसपा) नयाँ शक्तिकी कार्यवाहक अध्यक्ष एवम् भट्टराई अध्यक्ष हुँदा उपाध्यक्ष थिइन् ।
यसैबिच निर्वाचन आयोगले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि राजनीतिक दलबाट पेश भएका समानुपातिक तर्फका तीन हजार २ सय १३ जना उम्मेदवारको बन्दसूची सार्वजनिक गरेको छ । ५७ वटा चुनाव चिह्नमा ६३ राजनीतिक दलबाट पेश भएका तीन हजार २ सय १३ जना उम्मेदवारको बन्दसूची प्रकाशन गरिएको आयोगले जनाएको छ । बन्दसूचीमा नाम समावेश भएका कुनै उम्मेदवारको योग्यताको सम्बन्धमा दाबी विरोध गर्न चाहने कुनै मतदाताले आजदेखि आउँदो १० गतेसम्म बिहान १० बजेदेखि दिउँसो ४ बजेभित्र आयोगको समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई दाबी विरोध गर्न आयोगले आग्रह गरेको छ । दाबी विरोधका लागि निर्देशिकाबमोजिम निर्धारित ढाँचामा उजुरी गर्न सकिने पनि आयोगले जनाएको छ ।