Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रास्वपासँग मिलेर बालेन शाहको चुनावी अभियान सुरु, झापामा तीन सचिवालय स्थापना

रास्वपासँग मिलेर बालेन शाहको चुनावी अभियान सुरु, झापामा तीन सचिवालय स्थापना

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को चुनावी तयारी झापामा व्यवस्थित रूपमा अघि बढाइएको छ।

बालेनका लागि झापामा तीन फरक स्थानमा चुनावी सचिवालयहरू स्थापना गरिएको छ। मुख्य सचिवालयले रास्वपा क्षेत्रीय संयोजक भेषराज भट्टराईको नेतृत्वमा कमान्ड सम्हाल्ने निर्णय गरेको छ। तयारीलाई व्यवस्थित बनाउन आर्थिक, युवा परिचालन लगायतका विभिन्न उपसमितिहरू गठन गरिएका छन्।

साथै रास्वपाले जिल्ला स्तरमा ‘र्‍यापिड एक्सन टिम’ (र्‍याट) पनि निर्माण गरेको छ। प्रत्येक निर्वाचन क्षेत्रमा एक-एक जना कमान्डर तोक्ने तयारी भइरहेको छ। दमकमा बालेनका लागि ‘थ्री-लेयर’ सचिवालय बनाउने तयारी पूरा भइसकेको छ।

पहिलो घरमा राजनीतिक र डिजिटल टिम राखिने योजना छ। बालेन फेसबुक र अन्य सामाजिक सञ्जालमा लोकप्रिय छन्। यहाँ नेता र कन्टेन्ट क्रिएटरको १५ जनाको विशेष टोली बस्नेछ। काठमाडौंबाट आउने ब्याकअप टिम पनि यहीँ रहनेछ।

दोस्रो घरमा बालेन स्वयं बस्नेछन्। यहाँबाट राजनीतिक भेटघाट, निर्णय लिन र रणनीति तय गर्ने काम हुनेछ। सामाजिक सञ्जाल टिम र निर्वाचन कमान्डसँग निकट रहेर काम गर्ने योजना पनि यहीँ छ।

तेस्रो घरमा बालेनका निकट नेता, रास्वपाका स्थानीय नेतासहित अन्य नेताहरू रहनेछन्। बालेनको टिमले मतदाताको सर्वेक्षण गरिसकेको छ। मतदातालाई युवा, वृद्ध, महिला र वैदेशिक रोजगारीमा रहेका अनुसार विभिन्न क्लस्टरमा विभाजन गरी छुट्टाछुट्टै एजेन्डा तयार गरिएको छ। कतिपय गोप्य कामहरू यहीँबाट कार्यान्वयन गरिने तयारी भइरहेको छ।

सुरुमा दमकको क्याम्पस मोड र गोर्खा किचन आसपासका क्षेत्रमा ७–८ वटा घर हेरिएको थियो। केही स्थानीयले निःशुल्क घर उपलब्ध गराउने प्रस्ताव पनि दिएका थिए। तर सुरक्षा र पहुँचको दृष्टिले अन्तिम छनोट गरिएको स्रोतले बताएको छ।

निर्वाचन आयोगको कार्यतालिकाअनुसार माघ ६ गते उम्मेदवार मनोनयन दर्ता हुनेछ। दमकमा बालेन आउँदा जेनजी युवाको ठूलो उपस्थिति र अन्य जिल्लाबाट युवा परिचालन हुन सक्ने भएकाले सुरक्षा निकायले तयारी सुरु गरेको छ।

जेनजी आन्दोलनपछि आम युवाले खोजेका पात्रमध्ये एक बालेन शाह हुन्। केपी शर्मा ओली प्रधानमन्त्री हुँदा भएको जेनजी विद्रोहले बालेनलाई राजनीतिक रूपमा सक्रिय बनायो। उसबेला उनी प्रधानमन्त्री बन्न तयार थिएनन्, तर आगामी फागुन २१ को निर्वाचनपछि प्रधानमन्त्री बन्ने सम्भावना लिएर बालेन चुनावी मैदानमा उत्रने तयारीमा छन्।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकतामा सामेल भइसकेका छन् र झापा–५ लाई आफ्नो चुनावी क्षेत्र बनाउने योजना बनाएका छन्। यो क्षेत्र पूर्व एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचित हुँदै आएका क्षेत्र पनि हो।