Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

फरक शैलीको चुनावी अभियानले धरान तात्यो, माटो चिन्ह लिएर आफै मैदानमा हर्क साम्पाङ

फरक शैलीको चुनावी अभियानले धरान तात्यो, माटो चिन्ह लिएर आफै मैदानमा हर्क साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको चुनावी प्रचार शैलीले यतिबेला चुनावी माहोल थप गर्माएको छ। धरानमा उनको सक्रिय चुनावी अभियानका कारण स्थानीय राजनीति तातेको छ। श्रम संस्कृति पार्टीका अध्यक्षका रूपमा हर्क साम्पाङ घरदैलो अभियानमा निस्कँदै मतदातासँग प्रत्यक्ष सम्पर्कमा छन्।

हर्क स्वयम् पर्चा बाँड्दै टोल–टोलमा मतदातासमक्ष पुगिरहेका छन्। ‘माटो चिन्हमा भोट हाल्नुपर्छ है’ भन्दै उनी मतदातालाई रिझाइरहेका छन्। अन्य पार्टीहरूले भर्खर उम्मेदवार टुंग्याउँदै गर्दा हर्क भने आफू नियमित बस्ने तथा शुभेच्छुकसँग भेटघाट गर्ने चिया पसल ‘ग्रिन टी’ बाटै देशभरका लागि टिकट बाँडिरहेको देखिन्छ। कतिपय पार्टीहरूले त अझै उम्मेदवारसमेत टुंगो लगाइसकेका छैनन्।

श्रम संस्कृति पार्टीका नेता तथा कार्यकर्ता भोट माग्दै सडकमा निस्किएका छन्। हर्क साम्पाङले आफ्नै स्वरमा ‘श्रम गरौँ नेपाली हो, भोकै मर्ने दिन आइसक्यो’ भन्ने गीत पनि रेकर्ड गराएका छन्। यही गीत घन्काउँदै काँधमा हाते माइक र स्पिकर बोकेर, ‘हर्क साम्पाङ – अ रिभोलुसन’ लेखिएको टिसर्ट र कालो ट्र्याक सुटमा उनी मतदातासँग भेट्दै हिँडिरहेका छन्। ‘यसपालि माटोमा भोट हाल्नुपर्छ’ भन्दै उनी जनताको घर–घरमा पुगिरहेका छन्। यस अर्थमा हर्क साम्पाङले धरानको चुनावी माहोल तताइरहेका छन्।

गत असोज ७ गते ‘श्रम संस्कृति पार्टी’ नाम प्रस्ताव गर्दै साम्पाङले निर्वाचन आयोगमा निवेदन दिएका थिए। उनले जेन–जी आन्दोलनअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग मिलेर पार्टी खोल्ने संकेत दिएका थिए। तर आन्दोलनपछि दुवैबीचको सम्बन्ध बिग्रिएको बताइन्छ।

उनको विगतका काम, विशेषगरी खानेपानी समस्या समाधान र श्रमदान अभियानका कारण धेरै मतदाता सन्तुष्ट देखिन्छन्। यद्यपि, केहीले जातीय राजनीति र उनको व्यवहारप्रति आलोचना पनि गरेका छन्। झापा–५ मा एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहलाई हराउने दाबी गर्दै आएका साम्पाङ धरानबाहिरबाट चुनाव लड्न सक्छन् कि भन्ने चर्चा पनि चलेको छ। तर उनले आफू आफ्नै माटोबाट चुनाव लड्ने स्पष्ट पारेका छन्।

उनले भनेका छन्, “मैले सुनसरी–१ बाहेक अरू केही सोचेको छैन। झापा–५ मा हाम्रा उम्मेदवार समीर तामाङ नै काफी छन्।”

श्रम संस्कृति पार्टीले चुनावी अभियान तीव्र पारेको सुनसरी–१ क्षेत्रमा धरान उपमहानगरपालिकाका २० वडा, बराहक्षेत्र नगरपालिकाका ५ वडा र रामधुनी नगरपालिकाका २ वडा पर्दछन्। यस क्षेत्रमा १ लाख ५० हजार २३२ मतदाता रहेका छन्।