काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कमिटी बैठकमा पहिलोपटक सहभागी हुन लागेका छन्। पार्टीले आज दिउँसो २ बजेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ।
रास्वपाका प्रवक्ता मनिष झाले बालेन बैठकमा उपस्थित हुने पुष्टि गर्दै, उनी दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय पुग्ने कार्यक्रम तय भएको जानकारी दिए।
बालेन र रास्वपा सभापति रवि लामिछानेबीच गत पुस १३ गते सहमति भएको थियो। त्यसपछि उनलाई पार्टीले केन्द्रीय सदस्यमा मनोनयन गर्दै दोस्रो वरियतामा राखेको थियो। यद्यपि, वरियतामा रहे पनि उनी अहिलेसम्म पार्टी कार्यालय गएका थिएनन्।
बैठक सकिएपछि आजै सभापति लामिछाने र मेयर बालेन जनकपुर प्रस्थान गर्ने कार्यक्रम रहेको छ। भोलि जनकपुरमा आयोजना हुने आमसभालाई उनीहरूले सम्बोधन गर्नेछन्।