काठमाडौँ । नेकपा एमालेको केन्द्रीय तहमा रहेका खुमाकान्त पौडेलले पार्टीसँगको सम्बन्ध टुंग्याएका छन्। तिलोत्तमा नगरपालिका–३ निवासी पौडेलले संगठनभित्र बढ्दै गएको आन्तरिक असहमतिका कारण आफू अब एमालेमा नरहने निर्णय गरेको बताएका छन्।
जिल्ला अध्यक्ष यज्ञ गैरेलाई बुझाइएको पत्रमार्फत पौडेलले पार्टीको पछिल्लो कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्। नेतृत्व प्रणाली, आन्तरिक व्यवहार र संगठन सञ्चालनको ढाँचासँग आफ्नो सोच नमिलेको उल्लेख गर्दै उनले स्वतन्त्र रूपमा अघि बढ्ने बताएका छन्।
यसअघि पौडेल लुम्बिनी प्रदेश सरकारको मुख्य न्यायाधिवक्ताको जिम्मेवारीमा रहेका थिए भने कानुन आयोगमा पनि कार्यरत थिए। रुपन्देहीमा लामो समय पार्टी संगठनमा सक्रिय रहँदै आएका उनी युवा संगठनदेखि जिल्ला तहसम्म विभिन्न भूमिकामा देखिएका नेता हुन्।
पार्टीबाट अलग हुने निर्णयसँगै उनले आफूलाई राज्यस्तरीय जिम्मेवारी दिलाउन सहयोग गर्ने नेतृत्वप्रति कृतज्ञता व्यक्त गरेका छन्। पौडेलको बहिर्गमनले रुपन्देहीको एमाले राजनीतिमा नयाँ तरंग ल्याउने आँकलन गरिएको छ।