Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बारामा गुडिरहेको इभी माइक्रोबसमा आगलागी, सबै यात्रु सुरक्षित

बारामा गुडिरहेको इभी माइक्रोबसमा आगलागी, सबै यात्रु सुरक्षित

काठमाडौँ । शनिबार बिहान पूर्व–पश्चिम राजमार्गमा ठूलो दुर्घटना हुनबाट जोगिएको छ। पथलैया–निजगढ खण्डमा पोखराबाट काकरभिट्टातर्फ जाँदै गरेको इभी माइक्रोबसमा अचानक आगलागी भएपछि सवारीसाधन पूर्ण रूपमा नष्ट भएको छ।

जीतपुरसिमरा उपमहानगरपालिका–१६, सहजनाथ मन्दिर जाने सडक नजिक बिहान करिब ३:३० बजे नेपाल यातायात प्रालिको प्र.१–०१–००१ख ४७२० नम्बरको फोटोन कम्पनीको इभी माइक्रोबसबाट धुवाँ र आगो देखिएको थियो। गाडीमा सवार १४ यात्रुलाई चालकले तत्काल सडक छेउमा रोकेर बाहिर निकाल्दा मानवीय क्षति हुन पाएन।

आगोका कारण माइक्रोबस जलेर काम नलाग्ने अवस्थामा पुगेको भए पनि यात्रु र उनीहरूको सामान सुरक्षित रहेको प्रहरीले जनाएको छ। घटनापछि इलाका प्रहरी कार्यालय निजगढबाट पुगेको टोलीले यात्रुहरूलाई वैकल्पिक सवारीमार्फत गन्तव्यतर्फ पठाएको थियो।

प्रारम्भिक रूपमा विद्युत प्रणालीमा समस्या आएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ। घटनाको विस्तृत अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।