काठमाडौँ । सेरी–पान्तडी सडकखण्डमा भएको बोलेरो जिप दुर्घटनाले कालीकोटमा शोक छाएको छ। शुभकालिका गाउँपालिका–४ सल्लेरी नजिक शुक्रबार साँझ करिब ६ बजे जिप सडकबाट करिब ३ सय मिटर तल तिला नदी किनारतर्फ खस्दा तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन्।
जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख हिमबहादुर खत्रीका अनुसार दुर्घटनामा परेको जिप सेरी–पान्तडी सडकखण्डका ठेकेदार अर्जुन गौतमको ठेक्कामा काम गर्ने भाडाको सवारी साधन हो। शेरीघाटबाट प्यासेफिक एण्ड शर्मिला कन्स्ट्रक्शनका लागि डिजेल बोकेर पान्तडीतर्फ जाँदै गर्दा दुर्घटना भएको हो।
मृत्यु हुनेमा जेसीबी अपरेटर दैलेखको आठबीस नगरपालिका–साईगाउँका शंकर कठायत, अछाम घर भएका जेसीबी अपरेटर देपेन्द्र शाही र शुभकालिका गाउँपालिका–२ भर्ताका जेसीबी हेल्पर नवराज शाही रहेका छन्। तिला नदीकै किनारमा उनीहरूको शव फेला परेको प्रहरीले जनाएको छ।
दुर्घटनाको जानकारी पाउनासाथ प्रहरी प्रमुख खत्री र प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयल राति नै घटनास्थल पुगेका थिए। अँध्यारो र भिरालो भूगोलका कारण बेपत्ता व्यक्तिको खोजीमा कठिनाइ भइरहेको छ। जिपको पछाडिको भागका दुई टायर र ढाला भाँचिएको अवस्थामा भेटिएको छ। खोजी कार्य जारी रहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।