Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रचण्ड भन्छन्: “कांग्रेस फुटे पनि निर्वाचन रोकिँदैन, निर्धारित समयमा चुनाव हुने निश्चित”

प्रचण्ड भन्छन्: “कांग्रेस फुटे पनि निर्वाचन रोकिँदैन, निर्धारित समयमा चुनाव हुने निश्चित”

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस फुटे पनि निर्वाचन रोकिने अवस्था नरहेको स्पष्ट पारेका छन्। आज चितवन पुगेका प्रचण्डले आम नागरिकलाई आगामी चुनाव हुनेमा ढुक्क हुन अनुरोध गरे।

भरतपुर महानगरपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले भने, “निर्वाचन हुने नहुनेबारे सबैको मनमा प्रश्न उठेको छ। सरकार, राजनीतिक दलहरू र नेपालको विषयमा चासो राख्ने कूटनीतिक क्षेत्र पनि निर्वाचन चाहन्छ। त्यसैले निर्वाचन हुनेमा ढुक्क हुनुहोस्।”

उनले थपे, “चुनावबिना अर्को कुनै विकल्प अहिले देशका लागि उपयुक्त छैन। अरू विकल्प असहज छन् र दुर्घटना निम्त्याउने कारक बन्न सक्छन्। त्यसैले निर्धारित समयमा स्वच्छ र निष्पक्ष निर्वाचन गराउन हामी सबैले योगदान गर्नु आवश्यक छ। मैले यसको विकल्प केही देखेको छैन।”

भदौ २३ र २४ को परिस्थिति पछि भदौ २६ गतेको रात राष्ट्रपति र प्रधानसेनापतिसँग राजनीतिक दलका नेतृत्वले छलफल गरी तत्काल अन्तरिम सरकार बनाएर निर्वाचनमा जाने निर्णय लिनुपरेको उल्लेख गर्दै प्रचण्डले राष्ट्रको गरिमा जोगाउन जनताको सामूहिक सहभागिता अपरिहार्य भएको प्रष्ट पारे।

उनले नेपाली कांग्रेसको विशेष महाधिवेशन र पार्टी फुटको अवस्था बारे आएको अन्योलबारे पनि प्रष्ट पारे। प्रचण्डका अनुसार, कांग्रेस फुटे पनि निर्वाचन प्रक्रियामा असर नपर्ने प्रतिक्रिया सरकार, निर्वाचन आयोग तथा सुरक्षा संयन्त्रबाट प्राप्त भएको छ। “सबैतिरबाट कांग्रेसको विभाजनले निर्वाचन प्रक्रियालाई असर पार्छ कि पर्दैन भन्ने जिज्ञासा थियो। तर भोलिसम्म पार्टीको आधिकारिकता र विभाजनबारे केही स्पष्ट हुनेछ र निर्वाचन प्रक्रिया अघि बढ्ने निश्चित छ,” उनले भने।

प्रचण्डले निर्वाचन आयोगमा समानुपातिक सूची तयार भइसकेको र प्रत्यक्ष निर्वाचनको मनोनयन दिने दिन पनि नजिक आएको बताए। उनले बताए, “हिजोबाट दलको तर्फबाट प्रत्यक्षतर्फ टिकट बाँड्न सुरु गरेको छु। हिजो काठमाडौँमा टिकट बाँडेपछि चितवन आएको हुँ। जनता पनि चुनावी मानसिकता लिएर अगाडि बढिसकेको छ। यसरी चुनाव निश्चित रूपमा हुनेछ।”