काठमाडौँ । मेयर बालेन शाहले कर्णाली आउने घोषणा गरेका छन्। उनले मिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र आफू दुवैजना सँगै कर्णाली आउने र यदि एकसाथ आउन नसके पनि आफू एक्लै भए पनि अवश्य कर्णाली आउने बताएका छन्।
“कर्णाली जति सुन्दर छ, समस्या उति नै धेरै छन्,” बालेन शाहले भने। उनले कर्णालीको सुन्दरता देखाउन धेरै मानिस आए पनि त्यहाँका समस्या समाधान गर्न आजसम्म कुनै पनि जनप्रतिनिधि गम्भीर रूपमा नलागेको आरोप लगाए।
कर्णालीका युवाहरूसँगको छलफलका क्रममा बालेन शाहले सकभर देशभरका १६५ वटै प्रतिनिधिसभा क्षेत्रमा पुगेर देश दौडाहा गर्ने योजना रहेको जानकारी गराए। साथै, राजनीतिक द्वन्द्व र पार्टीगत लडाइँका कारण कर्णालीमा हुन नसकेका विकासका काम अब आफूले प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाए।
बालेन शाह र रवि लामिछाने हाल सिंगो नेपाली जनताका आशा र भरोसाका रूपमा हेरिन थालेका छन्। रवि–बालेनबीच भएको एकतापछि देशले पुराना दलबाट उन्मुक्ति पाउने विश्वास मतदातामाझ बढ्दै गएको देखिन्छ।
माघ ४ गते मेयर पदबाट राजीनामा दिने घोषणा गरिसकेका बालेन शाहले झापा र जनकपुरका कार्यक्रम तय भइसकेको र त्यसपछि देशभरका १६५ वटै क्षेत्रमा पुग्ने प्रयास गर्ने बताएका छन्। उनले कर्णालीलाई विशेष प्राथमिकतामा राख्ने पनि स्पष्ट पारेका छन्।
सबैभन्दा पिछडिएको क्षेत्र मानिने कर्णालीमा काठमाडौँका मेयर आफैं जाने भएपछि कर्णालीवासीमा नयाँ आशा थपिएको छ। विगतमा धेरै नेता र मन्त्रीहरूले कर्णालीको प्रतिनिधित्व गरे, सुगम बनाउने वाचा गरे, तर ती प्रतिबद्धता भाषणमै सीमित भएको स्थानीयहरूको गुनासो छ। अब भने बालेन शाहले कर्णालीप्रति चासो देखाएपछि परिवर्तनको अपेक्षा बढेको छ।
“देखाउनका लागि कर्णालीलाई स्विट्जरल्यान्डजस्तो बनाउने कुरा धेरै भयो, तर विकासको नाममा कसैले केही गरेन,” बालेन शाहको भनाइ छ।
केही समयअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र मेयर बालेन शाहबीच भएको एकताले ‘जेन–जी’ पुस्तालाई थप उत्साहित बनाएको छ। वैकल्पिक राजनीतिक शक्तिहरू एकजुट हुनुपर्ने दबाब दिँदै आएका युवाहरू रवि–बालेनको सहकार्यपछि देशले नयाँ दिशा लिने विश्वास व्यक्त गरिरहेका छन्।