काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रहरी प्रमुख राजनाथ पाण्डेले राजीनामा दिने तयारी गरेका छन्। आज मेयर बालेन शाहलाई राजीनामा बुझाएर दिउँसो ३ बजे महानगरपालिकाबाट बिदाइ हुने स्रोतले जानकारी दिएको छ। यससँगै पाण्डे काठमाडौँ महानगरपालिकाको प्रहरी बल प्रमुखको जिम्मेवारीबाट हट्ने भएका छन्।
पाण्डे प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारीका साथ राजीनामा दिन लागेका हुन्। उनी महानगरमा मेयर बालेन शाहका निकटस्थ मानिन्छन्। बालेन शाह मेयरमा निर्वाचित भएपछि पाण्डे प्रहरी प्रमुखको जिम्मेवारीमा आएका थिए। केही दिनअघि पाण्डेले बालेन शाह मेयर रहुन्जेलसम्म मात्रै आफू पदमा रहने बताएका थिए।
मेयर बालेन शाह आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने निश्चित भइसकेको छ। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भावी प्रधानमन्त्रीका उम्मेदवारका रूपमा अघि सारेको छ। निकट स्रोतका अनुसार राजनाथ पाण्डे पनि आगामी निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिने तयारीमा छन्। तर पाण्डेले भने राजीनामा दिएपछि मात्रै आफ्नो राजनीतिक यात्राबारे खुलाउने बताएका छन्।
महानगरपालिकामा मेयर–उपमेयरबीच विवाद हुँदा पनि पाण्डे विवादमा तानिएका थिए। एकपटक उनलाई प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाइएको भए पनि अदालतको आदेशपछि पुनर्बहाली गरिएको थियो। अब भने उनले स्वेच्छाले राजीनामा दिन लागेका हुन्।
पाण्डे कुन दल वा स्वतन्त्रबाट उम्मेदवारी दिने भन्ने विषय खुलिसकेको छैन। तर उनी निकट स्रोतका अनुसार मेयर बालेन शाह रास्वपामा प्रवेश गरेपछि पाण्डे पनि सोही पार्टीबाट प्रतिनिधित्व गर्ने तयारीमा छन्।
मेयर बालेन शाहले पनि मेयर पदबाट राजीनामा दिएर झापा–५ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारी गरिरहेको बताइएको छ। आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदैछ, जसका लागि राजनीतिक दलहरू उम्मेदवार छनोटमा जुटेका छन्।
भदौ २३ र २४ गते भएको ‘जेन–जी आन्दोलन’पछि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठन हुँदा मेयर शाहले पाण्डेलाई गृहमन्त्री बनाउन चाहेका थिए। तर सुरक्षा निकायका प्रमुखहरूले पाण्डेलाई गृहमन्त्री स्वीकार गर्न अस्वीकार गरेका थिए। त्यसपछि पनि पाण्डे मेयर शाहको निर्देशनमा महानगरमा कार्यरत रहँदै आएका थिए।
काठमाडौँ क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका महामन्त्री गगन थापा लगातार निर्वाचित हुँदै आएका छन् र यसपटक पनि सोही क्षेत्रबाट चुनाव लड्ने तयारीमा छन्। पाण्डेलाई गगन थापासँग प्रतिस्पर्धा गराउने र आफू पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने मेयर बालेन शाहको चाहना रहेको बताइन्छ।