Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

गोरखामा रास्वपा नेता प्रकाशचन्द्र परियारको गाडीमा तोडफोड

गोरखामा रास्वपा नेता प्रकाशचन्द्र परियारको गाडीमा तोडफोड

काठमाडौँ । गोरखामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता प्रकाशचन्द्र परियारको गाडीमा तोडफोड गरिएको छ। पार्टीको वडा सम्मेलनका लागि गोरखा पुगेका परियारको गाडीमा अज्ञात व्यक्तिहरूले तोडफोड गरेका हुन्।

गोरखाको भिमसेन गाउँपालिका–३ मा पार्किङ गरेर राखिएको अवस्थामा गाडीमा तोडफोड गरिएको बताइएको छ। तोडफोडबाट गाडीको सिसा फुटेको छ। उक्त गाडी स्थानीय धनेश थापाको रहेको जनाइएको छ।

रास्वपा नेतृ ज्वाला संग्रौलाले सामाजिक सञ्जालमा तोडफोड गरिएको गाडीको फोटो सार्वजनिक गर्दै घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न माग गरेकी छन्। सम्मेलनका कार्यक्रम चलिरहेका बेला पार्किङमा राखिएको गाडीमा क्षति पुर्‍याइएको जानकारी प्राप्त भएको परियारले बताएका छन्।

घटनामा संलग्न व्यक्तिको पहिचान खुल्न नसकेको र उजुरी परेपछि प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ। यसअघि पनि पटक–पटक रास्वपा नेताहरूको गाडीमा तोडफोड हुने घटनाहरू हुँदै आएका छन्।

चुनावको मिति नजिकिँदै जाँदा विभिन्न राजनीतिक दलहरू घरदैलो कार्यक्रम तथा चुनावी प्रचारमा व्यस्त रहेका छन्। यही क्रममा विभिन्न किसिमका घटनाहरू घटिरहेका छन्। प्रहरीले घटनासम्बन्धी थप विवरण संकलन गरिरहेको जनाएको छ।