काठमाडौं – लामो समयदेखि वैकल्पिक राजनीतिको अभियानमा जोडिएका युवा व्यावसायी तथा राजनैतिक अभियन्ता सुदन ज्ञवालीले आगामी निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर २ मा उम्मेदवारी दिने तयारी थालेका छन् । ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दिने तयारी गरेका छन् । उनी नयाँ शक्ति र विवेकशील साझा हुँदै रास्वपा आइपुगेका नेता हुन्।
ज्ञवाली बुटवलका स्थापित युवा व्यवसायी हुन्। अस्पताल, अटो–ल्याण्ड र पर्यटन क्षेत्रमा उनको लगानी छ। अर्घाखाँची हंसपुर समाजको पूर्वअध्यक्ष भइसकेका ज्ञवालीको रुपन्देहीमा बसोबास गर्ने अर्घाखाँचीबासीहरूसँग गहिरो सम्बन्ध छ। रुपन्देही २ का सैनामैना र बुटवलका धेरै वडाहरूमा अर्घाखाँचीबाट आएका मतदाताको बाहुल्यता छ। अघिल्लो चुनावमा रास्वपाले यस क्षेत्रमा २७ हजारभन्दा बढी समानुपातिक मत प्राप्त गरेको थियो।
युवा पुस्ताको आवाज बुझ्ने र आर्थिक क्षेत्रको ज्ञान भएका कारण आफू यस क्षेत्रको लागि उपयुक्त पात्र भएको उनको दाबी छ । ‘यो मेरो आकस्मिक निर्णय होइन, दशकौँदेखिको वैकल्पिक शक्ति निर्माणको त्याग र संघर्षको परिणाम हो,’ उनी भन्छन् ।