Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

जिल्ला जिल्लामा सर्वेक्षण टोलि खटाउदै रास्वपा

जिल्ला जिल्लामा सर्वेक्षण टोलि खटाउदै रास्वपा

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जिल्लास्तरमा जनमत सर्वेक्षणका लागि टोली खटाएको छ। स्रोतका अनुसार पार्टीले एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्रलाई विशेष लक्ष्य बनाउँदै सर्वेक्षण सुरु गरेको हो।

रास्वपाले ‘ग्राउन्ड सर्वेक्षण’ अर्थात् जनमत संकलनमार्फत विभिन्न जिल्लामा पार्टीको अवस्था, पार्टीप्रति जनताको धारणा तथा अपेक्षा बुझ्न टोली परिचालन गरेको जनाएको छ। जनमत संकलनका लागि आन्तरिक रूपमा सम्बन्धित जिल्लाकै पार्टी नेताहरूलाई जिम्मेवारी दिइएको छ।

रास्वपाका एक नेताका अनुसार यसअघिका निर्वाचनको मतपरिणामको विश्लेषणसमेत भइरहेको छ। उनले भने, “अघिल्लो निर्वाचनको मतपरिणाम हेर्ने कुरा त छँदै छ, तर त्योभन्दा पनि प्रभावकारी तथ्यांक प्रत्यक्ष रूपमा ग्राउन्डबाट आउँछ भन्ने निष्कर्षका साथ साथीहरू विभिन्न निर्वाचन क्षेत्रमा खटिनुभएको छ।”

हाल काठमाडौं उपत्यका, झापा र महोत्तरीमा ग्राउन्ड सर्वेक्षण टोली खटाइएको छ। सर्वेक्षणबाट प्राप्त तथ्यांकका आधारमा जित्ने सम्भावना देखिएका उम्मेदवारलाई प्रत्यक्षतर्फ अघि सार्ने तयारी रहेको स्रोतले जनाएको छ।

बालेन साह निकट स्रोतका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा–५ र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्र डडेलधुरामा विशेष रूपमा जनमत सर्वेक्षण भइरहेको छ। झापा–५ बाट चुनाव लड्ने तयारीमा रहेका बालेन साहले सो क्षेत्रमा जनमत सर्वेक्षण गरिरहेका छन्। त्यस्तै, डडेलधुरामा सागर ढकालले देउवाविरुद्ध चुनाव लड्ने तयारी गरिरहेका छन्।

आगामी फागुन २१ को निर्वाचनपछि रास्वपाले बहुमत ल्याउने दाबी पार्टी सभापति रवि लामिछानेले गर्दै आएका छन्। रास्वपाको बढ्दो लोकप्रियतासँगै अन्य दलबाट समेत नेता तथा कार्यकर्ताहरू पार्टीमा आबद्ध हुने क्रम जारी छ।

यसैक्रममा तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट मधेस प्रदेशसभा सदस्य बनेका रहबर अन्सारी राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भएका छन्। यसअघि माओवादी केन्द्र परित्यागको घोषणा गरेका अन्सारीले आफूले रास्वपाको साधारण सदस्यता लिइसकेको जानकारी दिएका छन्। उनले पर्सा–१ वा बारा–४ मध्ये कुनै एक निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ उम्मेदवारी दिने तयारी रहेको बताए।

रास्वपामा जेन–जी युवासहित विभिन्न दलका व्यक्तिहरू धमाधम प्रवेश गरिरहेका छन्। पुराना दलहरूले जनतालाई सधैं निराश बनाएको भन्दै आम नागरिकहरू नयाँ राजनीतिक शक्तिप्रति आशावादी बन्दै गएको देखिन्छ।