Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रशान्त तामाङको निधनमा भारतीय प्रधानमन्त्री मोदीद्वारा शोकपत्र

प्रशान्त तामाङको निधनमा भारतीय प्रधानमन्त्री मोदीद्वारा शोकपत्र

काठमाडौँ । गायक तथा अभिनेता प्रशान्त तामाङको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शोकपत्र पठाएका छन्। मोदीले तामाङकी श्रीमती मार्था एलीलाई शोकपत्र पठाउँदै प्रशान्तको निधनले अपुरणीय क्षति पुगेको उल्लेख गरेका छन्।

शोकपत्रमा प्रधानमन्त्री मोदीले प्रशान्त तामाङको गायन र अभिनय कलाको उच्च प्रशंसा गर्दै उनलाई सबैका लागि प्रेरणाको स्रोत भएको बताएका छन्। सोमबार पठाइएको शोकपत्रमा मोदीले लेखेका छन्, “आफ्नो भावपूर्ण गायकी र उत्कृष्ट अभिनयले प्रशान्त तामाङजीले मनोरञ्जनको दुनियाँमा आफ्नो लागि विशिष्ट स्थान बनाउनुभयो। दृढ सङ्कल्प र विशाल प्रतिभाको प्रतीक उहाँले देशभरका करोडौँ मन छुनुभयो। प्रशान्त तामाङजी अनगिन्ती मानिसहरूका लागि प्रेरणाको स्रोत हुनुहुन्छ।”

प्रशान्तको जीवन यात्राले युवाहरूलाई सपनामा विश्वास गर्न र कडा परिश्रम गर्न प्रेरित गर्ने उल्लेख गर्दै मोदीले शोकपत्रमा थप लेखेका छन्, “यस कठिन घडीमा उहाँसँग बिताएका क्षणहरूको सम्झनाले परिवारलाई सान्त्वना प्रदान गर्नेछ। परिवारका सदस्यहरू र उहाँका असङ्ख्य प्रशंसकहरूलाई यो दुखद क्षति सहन सक्ने शक्ति र धैर्य प्राप्त होस्।”

प्रधानमन्त्री मोदीको शोकपत्र भारतीय जनता पार्टीका सांसद तथा पार्टीका राष्ट्रिय प्रवक्ता राजु विष्टले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका हुन्। यसैबीच, पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले पनि प्रशान्त तामाङको निधनप्रति दुःख व्यक्त गरेकी छन्।

गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार नयाँ दिल्लीमा हृदयघातका कारण निधन भएको थियो। उनी निन्द्राकै क्रममा मध्यराति बितेको बताइएको छ।

प्रशान्त तामाङ लोकप्रिय भारतीय गायन रियालिटी शो ‘इन्डियन आइडल’ सिजन–३ का विजेता हुन्। उक्त कार्यक्रममा सहभागिता जनाएर उनले संसारभरका नेपालीभाषी मात्र होइन, भारतसहित विभिन्न देशमा व्यापक लोकप्रियता हासिल गरेका थिए। उनले नेपाली, भारतीयसहित विभिन्न भाषाका गीतहरूमा आवाज भरेका छन्।

‘असारै महिनामा’, ‘मन साइली’, ‘रातो रानी’, ‘अरे क्या नाम’, ‘घामको माया’ र ‘गोर्खा पल्टन’ जस्ता गीतहरू उनका निकै चर्चित र लोकप्रिय गीतहरू हुन्।

इन्डियन आइडलमा सहभागी हुनुअघि प्रशान्त मुम्बई प्रहरीको आर्केस्ट्रामा कार्यरत थिए। उनी समय–समयमा प्रहरीका कार्यक्रमहरूमा गीत गाउने गर्थे। अग्रजहरूको सल्लाहअनुसार इन्डियन आइडलमा सहभागिता जनाएका उनले सो प्रतियोगिताको विजेता बनेर व्यापक ख्याति कमाएका थिए।

modi.jpg