Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

अमेरिकी प्रेडिक्सन मार्केटमा नेपालको चुनावी अनुमान : रास्वपा सबैभन्दा अगाडि

अमेरिकी प्रेडिक्सन मार्केटमा नेपालको चुनावी अनुमान : रास्वपा सबैभन्दा अगाडि

काठमाडौँ अमेरिकी बजारमा सञ्चालन भइरहेको नेपालको प्रतिनिधिसभा निर्वाचनसम्बन्धी चुनावी अनुमान (बाजी) मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा अगाडि देखिएको छ। न्यूयोर्कको म्यानह्याटनमा मुख्यालय रहेको ‘प्रेडिक्सन मार्केट’ पोलिमार्केटले गत वर्ष डिसेम्बर ८ देखि “नेपालको प्रतिनिधिसभा निर्वाचनको विजेता को ?” शीर्षकमा बाजी कारोबार सञ्चालन गर्दै आएको हो।

पोलिमार्केटको हालैको बजार तथ्यांकअनुसार रास्वपाले सबैभन्दा बढी सिट जित्ने सम्भावना देखाइएको छ। रास्वपापछि नेपाली कांग्रेस दोस्रो स्थानमा रहने अनुमान गरिएको छ भने त्यसपछि नेपाली कम्युनिष्ट पार्टी र नेकपा एमाले क्रमशः आउने देखिन्छ। चुनावमा पहिलो दल हुने सम्भावना १ प्रतिशतभन्दा कम देखाइएका दलहरूमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय जनमोर्चा रहेका छन्।

प्रतिनिधिसभामा सबैभन्दा बढी सिट ल्याउने दललाई विजेता मान्ने आधारमा यो बाजीको छिनोफानो गरिने पोलिमार्केटले जनाएको छ। नेपालको निर्वाचन आयोगले सार्वजनिक गर्ने आधिकारिक नतिजालाई नै अन्तिम आधार मानिने नियम पोलिमार्केटमा उल्लेख गरिएको छ।

पछिल्लो समय नेपालको राजनीतिमा रवि लामिछाने नेतृत्वको रास्वपाले आफ्नो संगठन र प्रभाव तीव्र रूपमा विस्तार गरिरहेको छ। नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको रास्वपाले उल्लेखनीय लोकप्रियता हासिल गर्दै आएको छ। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा रास्वपा पहिलो शक्ति बन्ने दाबी पनि पार्टीका नेताहरूले गर्दै आएका छन्।

यही निर्वाचनको सन्दर्भमा अन्तर्राष्ट्रिय बजारले पनि आफ्नो अनुमान अमेरिकी ‘प्रेडिक्सन मार्केट’ पोलिमार्केटमार्फत सार्वजनिक गर्न थालेको हो। फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको नतिजाबारे कसले जित्छ भन्ने विषयमा बाजीको कारोबार सुरु भइसकेको छ, जसमा सहभागीहरू निर्वाचन परिणाम घोषणा नहुँदासम्म सहभागिता जनाउन सक्छन्।

कुन पार्टीको जित्ने सम्भावना कति छ भन्ने स्वतन्त्र अनुमानका आधारमा सहभागीहरूले बाजी थाप्ने गर्छन्। बाजी थाप्दा प्रत्येक ‘कन्ट्र्याक्ट’ खरिद गर्न निश्चित शुल्क तिर्नुपर्छ। यदि अनुमान सही ठहरिएमा सहभागीले निश्चित रकम आम्दानी गर्छन् भने अनुमान गलत भएमा आफूले लगाएको सम्पूर्ण रकम गुम्न सक्छ।

जित्ने सम्भावनाका प्रतिशतहरू बाजीमा सहभागी खरिदकर्ताहरूको गतिविधिका आधारमा घटबढ हुने गर्छन्। पछिल्लो समय अमेरिकामा सेयर बजारजस्तै विभिन्न सम्भावनाका विषयमा ठोकुवा गर्दै बाजी थाप्ने चलन तीव्र रूपमा बढ्दै गएको देखिन्छ।