काठमाडाैं । हिजो बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता तथा त्रुटि सच्याउन समय दिएको थियो। सोही अवधिमा समानुपातिक सूचीमा समेटिएका १६४ उम्मेदवारले नाम फिर्ता लिएको निर्वाचन आयोगले जनाएको छ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यही पुस १३, १४ र १५ गते विभिन्न राजनीतिक दलहरूले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची पेश गरेका थिए।
नाम फिर्ता लिने दलहरूमध्ये लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट सबैभन्दा बढी ७८ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)सँग चुनावी तालमेल गर्दै जसपा नेपालको निर्वाचन चिन्ह ‘छाता’ प्रयोग गरी समानुपातिक निर्वाचन प्रक्रियामा सहभागी हुने निर्णयअनुसार लोसपाले ती उम्मेदवारहरूको नाम फिर्ता लिएको जनाएको छ। लोसपाले सुरुमा ११० जनाको नाम पेश गरेको थियो। फिर्ता लिएकामध्ये केही उम्मेदवारको नाम जसपाको बन्दसूचीमा समेटेर अध्यावधिक गरिएको छ।
जसपा नेपालबाट २१ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। त्यसैगरी, जनमत पार्टीबाट २० जनाले नाम फिर्ताका लागि निवेदन दर्ता गराएका छन्। जनमत पार्टीकी केन्द्रीय सदस्य तथा खस आर्य संघकी राष्ट्रिय अध्यक्ष लक्ष्मी खड्काले बन्दसूचीमा आर्थिक चलखेल भएको आरोप लगाउँदै सम्बन्धित व्यक्तिहरूलाई उपस्थित गराएर एकैपटक २० जनाको उम्मेदवारी फिर्ता गराएकी हुन्।
ठूला दलहरूको हकमा नेकपा एमालेबाट ५ जना, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट २–२ जनाले उम्मेदवारी फिर्ताका लागि निवेदन दिएका छन्। यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट १२ जना, जनादेश पार्टी नेपालबाट ६ जना, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट ४ जना तथा राष्ट्र निर्माण दल नेपालबाट ४ जना उम्मेदवारले नाम फिर्ता लिएका छन्।
निर्वाचन आयोगले सोमबार (पुस २८) गतेसम्म उम्मेदवारी फिर्ता तथा त्रुटि सच्याउने समय दिएको थियो। सोही क्रममा १८ राजनीतिक दलका १६४ उम्मेदवारले आ–आफ्नो नाम फिर्ता लिएका हुन्। आयोगले नाम फिर्ता लिएका उम्मेदवारहरूको विवरण मंगलबार अपराह्न ४ बजेसम्म सम्बन्धित राजनीतिक दललाई जानकारी गराउने जनाएको छ।
नाम फिर्तापछि रिक्त भएका स्थानमा यही पुस ३० देखि माघ २ गतेसम्म नयाँ उम्मेदवारको मनोनयन गरी सम्बन्धित दलहरूले आयोगमा बुझाउनुपर्नेछ। निर्वाचन आयोगले विभिन्न प्रक्रिया पूरा गरी माघ २० गते समानुपातिक उम्मेदवारको बन्दसूचीलाई अन्तिम रूप दिनेछ।