Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

५५ वर्षको उमेरमा बुवा बने एमाले नेता शेरधन राई

५५ वर्षको उमेरमा बुवा बने एमाले नेता शेरधन राई

काठमाडौँ । नेकपा (एमाले) का नेता शेरधन राई ५५ वर्षको उमेरमा बुवा बनेका छन्। राई दम्पतीलाई पहिलो सन्तानका रूपमा पुत्रलाभ भएको हो। यस खुसीको जानकारी स्वयं शेरधन राईले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।

फेसबुकमा उनले लेखेका छन्,
“२०८२ साल पौष २८ गते सोमबारको दिन हाम्रो जीवनका लागि विशेष खुसीको दिन रह्यो। हिजो हाम्रो परिवारमा पहिलो सन्तानका रूपमा छोराको आगमन भएको छ। यो व्यक्तिगत तथा पारिवारिक खुसीसँगै मलाई देश, समाज र भावी पुस्ताप्रति थप गहिरो जिम्मेवारीबोधका साथ काम गर्न प्रेरित गरेको छ। यस पारिवारिक खुसीमा बधाई, शुभकामना र शुभेच्छा प्रकट गर्नुहुने सबैप्रति हामी आभारी छौँ।”

केही समयअघि उनी बुवा बन्न लागेको खबर बाहिरिएसँगै व्यापक चर्चा भएको थियो। शेरधन राईकी पत्नी जाङ्मु शेर्पाले सामाजिक सञ्जालमार्फत आफूहरू आमा–बुवा बन्न लागेको जानकारी सार्वजनिक गरेकी थिइन्। शेरधन राई एमालेको सचिवमा निर्वाचित भएकै दिन बधाई तथा शुभकामना दिने क्रममा जाङ्मुले आफू गर्भवती भएको घोषणा गरेकी थिइन्।

बुढेसकालमा विवाह गरेका राई ५५ वर्षको उमेरमा बुवा बनेका हुन्। सामाजिक सञ्जालमा खबर सार्वजनिक भएपछि शुभेच्छुक, समर्थक तथा शुभचिन्तकहरूले बधाई तथा शुभकामना व्यक्त गरिरहेका छन्। धेरैले राईको राजनीतिक यात्रासँगै पारिवारिक जीवन पनि सुखद रहोस् भन्ने कामना गरेका छन्।

शेरधन राईले २०७७ साल माघमा जाङ्मु शेर्पासँग विवाह गरेका थिए। उनी कोशी प्रदेशका मुख्यमन्त्री भएकै बेला विवाह बन्धनमा बाँधिएका हुन्। त्यसबेला राईको उमेर ४९ वर्ष थियो भने जाङ्मु २३ वर्षकी थिइन्। जाङ्मु सन् २०१८ की ‘मिस मंगोल’ पनि हुन्।

शेरधन राई र उनकी श्रीमती जाङ्मुको उमेर अन्तर २५ वर्षभन्दा बढी रहेको छ। उनीहरूको विवाह प्रेम विवाह हो। राईको पुर्ख्यौली घर भोजपुर हो भने जाङ्मु संखुवासभाकी हुन्।

राजनीतिक यात्रातर्फ हेर्दा, शेरधन राई २०४४ सालदेखि संगठित रूपमा अनेरास्ववियुको राजनीतिमा सक्रिय छन्। अखिलको जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य हुँदै पूर्वाञ्चल संयोजक बनेका राई २०५४ सालको एमाले विभाजनपछि जिल्लामा पार्टीको नेतृत्व सम्हाल्दै शक्तिशाली नेताका रूपमा स्थापित भए। २०५६ सालको संसदीय निर्वाचनमा उनी कान्छा उम्मेदवारका रूपमा सांसद बनेका थिए। त्यसयता उनी निरन्तर राजनीतिमा सक्रिय रहँदै आएका छन्।