Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कांग्रेस विशेष महाधिवेशन : ९ बजे सुरु हुने बन्दसत्रले के गर्छ ?

कांग्रेस विशेष महाधिवेशन : ९ बजे सुरु हुने बन्दसत्रले के गर्छ ?

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्र बिहान ९ बजेबाट सुरु हुँदै छ । विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यका अनुसार सोमबार स्थगित बन्दसत्र बिहान ९ बजेबाट पुनः सुरु हुन लागेको हो । 

उनले केन्द्रीय समितिले विशेष महाधिवेशनको ओनरसिप नलिए नेतृत्व परिवर्तनको कार्यविधि पारित भइसकेकाले त्यसै अनुरुप अघि बढ्ने जानकारी दिए । 

“सभापति र कार्यवाहक सभापति आएर विशेष महाधिवेशनको स्वामित्व लिनुभएन भने विशेष महाधिवेशनको हलले नेतृत्व परिवर्तन गर्ने कार्यविधि पारित गरिसकेको छ,” आचार्यले भने । 

विशेष महाधिवेशन प्रचार समितिका संयोजक सुवास पोखरेलले भने ‘हलको मुड’ सभापति शेरबहादुर देउवा आउँदा पनि नेतृत्व कायम राख्ने नरहेको बताए । उनले महाधिवेशन प्रतिनिधिहरूले अपमानित महसुस गरेकाले सभापतिको सम्मान गर्ने ‘मुड’मा नरहेको बताए ।

“भोलिसम्म सभापतिसहित नेताहरू आएर विशेष महाधिवेशनको स्वामित्व लिनुभयो भने परिस्थिति अर्को बन्न सक्छ,” पोखरेलले भने, “तर, हलको मुड त्यो छैन । महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको औचित्य सकियो भन्ने निर्णयबाट अपमानित महसुस गर्नुभएको छ । उहाँहरू सजिलै मान्नुहुन्छ भन्ने देखिँदैन ।”

उनले बन्दसत्र सुरु हुँदा नेताहरू नआए प्रतिनिधिहरूलाई रोक्न नसकिने बताए । “नेताहरू आउनुभयो, स्वामित्व लिएर महाधिवेशन प्रतिनिधिहरूलाई आश्वस्त पार्नुभयो भने पार्नुभयो,” पोखरेलले भने, “बारबार के हुन्छ के हुन्छ भन्ने जवाफ मिडियालाई दिन सकिँदैन, मंगलबार (आज)देखि नयाँ नेतृत्वको प्रक्रिया सुरु हुन्छ ।”  

यसैबीच, कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजै बस्दै छ । बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । 

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र सातवटै प्रदेशका सभापतिलाई बोलाइएको छ ।