काठमाडौँ । भोजपुर एकता समाज कतारको प्रथम अधिवेशन शुक्रबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन कार्यक्रमको बन्दसत्रबाट बद्री तामाङको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरिएको छ।
दोहाको मुन्ताजा पार्क नजिकै रहेको गोर्खाली रेस्टुरेन्टको सभाहलमा सम्पन्न अधिवेशन समाजको तदर्थ समितिका संयोजक बद्री तामाङको सभापतित्वमा तथा विभिन्न संघ–संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरिसक्नुभएका समाजसेवी एवं सामाजिक व्यक्तित्व पंकज नेवाहाङ राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
अधिवेशनबाट अध्यक्षमा बद्री तामाङ चयन हुँदा प्रथम उपाध्यक्षमा जीवन राई, द्वितीय उपाध्यक्षमा छत्रमणी खड्का र महिला उपाध्यक्षमा गुना मगर (निशु) चयन भएका छन्। त्यसैगरी महासचिवमा गुणराज कटुवाल, सचिवमा प्रताप चाहार मुस्कान, महिला सचिवमा इन्दिरा कटुवाल, कोषाध्यक्षमा सुवास तामाङ र सह–कोषाध्यक्षमा सुरेश तिम्सिना निर्विरोध चयन भएका छन्।
कार्यसमितिका सदस्यहरूमा क्रमशः बाबुराम बस्नेत, देवी भण्डारी, प्रकाश राउत, विवेक कटुवाल, सुमन राई, सृजल बान्तावा राई, तुलसी खड्का, बबिता परियार, प्रकाश परियार, सुदेश राई, हरि गजमेर र किरण कटुवाल सर्वसम्मत निर्वाचित भएका छन्।
कार्यक्रम बन्दसत्र र खुल्ला सत्र गरी दुई चरणमा सम्पन्न भएको थियो। खुल्ला सत्रमा विभिन्न वक्ताहरूका साथै कलाकार तथा पत्रकारहरूले प्रतिनिधिमूलक शुभकामना मन्तव्य राखेका थिए। कोशी प्रदेश अन्तर्गतका विभिन्न जिल्ला संस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा व्यवसायीहरूको उल्लेख्य उपस्थितिमा कार्यक्रम भव्य र सफल भएको आयोजकले जनाएको छ।
कार्यक्रमको अन्त्यमा सभापति बद्री तामाङले अधिवेशन सभ्य र भव्य रूपमा सफल भएकोमा खुशी व्यक्त गर्दै उपस्थित सबैप्रति धन्यवाद ज्ञापन गरे। नव–निर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक पंकज नेवाहाङ राईले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए। साथै, खुल्ला सत्र कार्यक्रममा अंग्रेजी नयाँ वर्षको शुभकामना आदान–प्रदान कार्यक्रम पनि समावेश गरिएको थियो।