Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आफुलाई नेतृत्वबाट हटाउने कुरा आएपछि आफूनिकटलाई आकस्मिक छलफलमा बोलाउदै देउवा

आफुलाई नेतृत्वबाट हटाउने कुरा आएपछि आफूनिकटलाई आकस्मिक छलफलमा बोलाउदै देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई आकस्मिक छलफलमा बोलाएका छन्।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशनमा बहुमत प्रतिनिधि उपस्थित भएपछि देउवाले आफूनिकट नेताहरूलाई तत्काल छलफलमा बोलाएका हुन्। छलफल बिहान ३ बजेदेखि देउवा निवासमा सुरु भएको छ।

विशेष महाधिवेशनले देउवा नेतृत्वको कार्यसमिति भङ्ग गरी नयाँ नेतृत्व ल्याउने कार्यविधि पारित गरेको छ। यसअघि देउवाले आफूनिकट कानुनी पृष्ठभूमि भएका नेता तथा कानुन व्यवसायीसँग पनि छलफल गरेका थिए। देउवाको अस्वीकारबीच अहिले विशेष महाधिवेशन जारी छ। महाधिवेशनको बन्दसत्रमा दुई महामन्त्रीले छुट्टाछुट्टै प्रतिवेदन पेश गरेका छन्।

विशेष महाधिवेशनमा कार्यविधि पारित भएपछि देउवाले आफू निकटस्थ नेताहरूलाई छलफलमा बोलाएका हुन्। बैठक महाराजगञ्जस्थित देउवाको निवासमा हुने जनाइएको छ। हिजो साझदेखि नै देउवाले आफूनिकट नेताहरूलाई निरन्तर छलफलका लागि बोलाइरहेका छन्।

यसअघि देउवा समूहमा रहेका विनोद चौधरीलगायत, निर्वाचनअघि महाधिवेशन गर्नुपर्ने माग गर्दै आएका ३० जना केन्द्रीय सदस्य पनि विशेष महाधिवेशनमा उपस्थित भएका छन्। यसैकारण देउवा अहिले निरन्तर छलफलमा जुटेका छन्।

यता नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी पछिल्लो समय उद्देश्यविहीन सत्ता र शक्ति केन्द्रित राजनीतिमा रमाएको बताएका छन्। सोमबार विशेष महाधिवेशनको बन्दसत्रमा उनले समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै भने, कांग्रेसले आफ्नो मूल्य, मान्यता र सिद्धान्तमा कहिल्यै सम्झौता नगरेको तर पछिल्लो समय शक्ति केन्द्रित राजनीतिमा रमाइएको स्वीकार गरे।