Shares
Shares
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह औपचारिक रूपमा झापाबाट चुनावी मैदानमा उत्रिने तयारीमा देखिएका छन्। गयराति तयारीमा रहन आग्रह गरेपछि अब उनी चुनावी सभाहरूमा सक्रिय रूपमा देखिने संकेत प्राप्त भएको छ। केपी शर्मा ओलीसँग झापामै प्रतिस्पर्धा गर्ने तयारीमा रहेका बालेनले सम्भवतः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित काठमाडौंको टुँडिखेलमा भव्य सभा गर्ने तयारी गरिरहेका छन्।
बालेन निकट एक नेताका अनुसार माघ ३ गतेतिर उक्त भव्य सभाको आयोजना हुने तयारी भइरहेको छ। सो जानकारी लालीगुराँस डट कमलाई दिइएको हो।
यद्यपि रवि लामिछानेले बालेनलाई काठमाडौं–२ बाट चुनाव लड्न सुझाव दिएका थिए, तर बालेनले झापामै चुनाव लड्ने मनस्थिति बनाइसकेको खुलेको छ। उनी झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्न सक्ने देखिएको छ। यही क्षेत्रबाट प्रधानमन्त्री ओली वर्षौंदेखि चुनाव जित्दै आएका छन्। अघिल्लो चुनावमा राप्रपाको समेत समर्थन लिएर ओलीले सबैभन्दा धेरै मत प्राप्त गरेका थिए। यसपालि पनि ओली यही क्षेत्रबाट चुनाव लड्ने तयारीमा रहेकाले बालेनले झापा–५ लाई आफ्नो प्रमुख लक्ष्य बनाएका हुन्।
यदि झापा–५ बाट चुनाव भएमा ओली प्रधानमन्त्रीकै दाबेदारका रूपमा रहन्छन् भने बालेन पनि प्रधानमन्त्रीको दाबेदारीसहित चुनावी मैदानमा होमिने छन्। बालेनले ओलीलाई आफ्नो प्रमुख राजनीतिक प्रतिद्वन्द्वीका रूपमा प्रस्तुत गर्दै आएका छन्। उनका सामाजिक सञ्जालका अधिकांश पोस्टहरूमा ओलीप्रति असन्तुष्टि देखिन्छ। उता ओलीले पनि बालेनलाई नै आफ्नो प्रमुख विरोधी मान्ने गरेको देखिन्छ।
जेन–जी आन्दोलनका क्रममा बालेनले ओलीविरुद्ध कडा आक्रोश पोख्दै तत्काल सरकार छाड्न माग गरेका थिए। त्यसको भोलिपल्ट ओली हेलिकप्टरमार्फत बाहिरिनुपर्ने अवस्था सिर्जना भएको थियो भन्ने चर्चा पनि व्यापक रह्यो।
त्यसयता ओलीले बालेनलाई ‘सिंहदरबार जलाउने नाइके’ को रूपमा चित्रण गर्दै आएका छन्। उनले बालेनले नशाको भरमा जनता उचालेको आरोपसमेत लगाउँदै आएका छन्। उता बालेन मात्र होइन, रवि लामिछानेको पनि प्रमुख राजनीतिक विरोधी ओली नै देखिन्छन्। ओली सरकारमा रहँदा आफूलाई राजनीतिक प्रतिशोधका कारण जेल हालिएको रविको आरोप छ।
रविले ओली सत्तामा रहँदा जनताको हितविपरीत काम गरेको र सधैं विकासभन्दा विनाशको बाटो रोजेको आरोप लगाउँदै आएका छन्। ओली पनि रवि लामिछानेप्रति निरन्तर आक्रामक देखिन्छन्। अहिले रवि र बालेनको सहकार्यपछि ठूला दलहरू तनावमा परेका छन्। बालेनको बढ्दो सक्रियताले ओलीको निद्रा हराम भएको चर्चा राजनीतिक वृत्तमा चलिरहेको छ।
बालेनको पहिलो चुनावी सभाको प्रतीक्षामा रहेका समर्थकहरू उनका चुनावी एजेन्डाबारे पनि उत्सुक देखिन्छन्। बालेन र रविको सहकार्यपछि आगामी चुनावमा रास्वपा पहिलो दल बन्न सक्ने विश्लेषण सुरु भएको छ। तर ठूला दलहरू भने यसलाई स्वीकार्न तयार देखिँदैनन्।
पुराना दलहरू एकता गरेर भए पनि रास्वपालाई पराजित गर्ने योजनामा लागेका छन्। ओली, देउवा र प्रचण्डबीच पटक–पटक बैठक बसेर चुनावी एकताको प्रयास भइरहेको छ। यद्यपि प्रचण्ड पूर्ण रूपमा तयार नदेखिए पनि ओली र देउवा भने राष्ट्रिय सभामै गठबन्धनमा जोडिएका छन्। दुई दलले भागबन्डा गर्दै चुनावी तयारी अघि बढाएका छन्।
यदि कांग्रेस र एमाले मिलेर चुनावमा गए भने रास्वपालाई कडा प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ। तर बालेन र रवि स्वयं मैदानमा उत्रिएर प्रचार–प्रसार गर्ने भएकाले उनीहरूको चुनौती केही हदसम्म सहज हुन सक्ने विश्लेषण गरिएको छ।
अब प्रश्न उठेको छ—आगामी दुई सम्भावित प्रधानमन्त्रीका दाबेदार ओली र बालेनमध्ये झापामा कसले जित्ला ? यसको उत्तर भने समय र मतदाताले नै दिनेछन्।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209