Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रोशना लामिछाने र लोकेश ठकुरीको टिकटक विवाद

रोशना लामिछाने र लोकेश ठकुरीको टिकटक विवाद

काठमाडौँ । टिकटकमा पछिल्लो समय रोशना लामिछाने र लोकेश पाल ठकुरीबीचको लफडाले व्यापक चर्चा पाएको छ। सामाजिक सञ्जाल कति हदसम्म अश्लिलता र विकृतितर्फ गइरहेको छ भन्ने उदाहरण यी दुईका भिडियोहरूबाट प्रष्ट देखिन्छ। केही समयदेखि सुरु भएको उनीहरूबीचको विवाद अहिले टिकटकभरि छताछुल्ल भएको छ।

दुवैले एक–अर्काविरुद्ध अश्लिल शब्द प्रयोग गर्दै गालीगलौज गरिरहेको देखिन्छ, जसका कारण अहिले उनीहरू दुवैमाथि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको आलोचना र गालीको वर्षा भइरहेको छ। भिडियोहरू हेर्दा झगडाको सुरुवात रोशनाले टिकटक लाइभमै अपशब्द प्रयोग गर्दै गाली गरेबाट भएको देखिन्छ।

त्यसपछि लोकेशले पनि महिलाप्रति अपशब्द प्रयोग गर्दै दुर्व्यवहारपूर्ण भाषामा प्रतिक्रिया दिएका छन्। त्यसको जवाफमा रोशनाले लोकेशकी छोरी र श्रीमतीलाई जोडेर अश्लिल तथा आपत्तिजनक शब्द प्रयोग गर्दै गाली गरेकी छन्। यसपछि उनीहरूबीचको झगडा सामाजिक सञ्जालभरि भाइरल बनेको हो।

दुवैलाई फरक–फरक रूपमा टिप्पणी गरिए पनि रोशनाको शैलीलाई लिएर झन् बढी आलोचना भइरहेको छ। एक महिलाले अर्को महिलाको इज्जत गर्न नसकेको भन्दै लोकेशकी श्रीमतीले समेत भिडियोमार्फत जवाफ फर्काएकी छन्। उता रोशनाले लोकेशलाई आफ्नो घरमा एकछाक खाना खुवाएको बेकार भएको भन्दै पुनः अश्लिल शब्द प्रयोग गरी गाली गरेकी छन्।

यसपछि सामाजिक सञ्जालमा रोशना र लोकेशको पक्ष–विपक्षमा दर्शकहरू आपसमा नै भिडिरहेका छन्। अहिले यी दुईबीचको झगडा हेर्ने प्रमुख माध्यम नै टिकटक बनेको छ।

टिकटक बन्द भएर पुनः सञ्चालनमा आएको एप हो। नेपालीहरूले सामाजिक सञ्जाललाई कति हदसम्म दुरुपयोग गरिरहेका छन् भन्ने उदाहरणका रूपमा रोशना र लोकेशको विवादलाई धेरैले लिएका छन्। समाजले के खोजिरहेको छ र के बोल्ने भन्ने हेक्का नराखी दुबैले सामाजिक सञ्जाललाई धमिल्याएको आरोप लागिरहेको छ।

कतिपयले त टिकटक बन्द भएकै ठीक हुने भन्दै आलोचना समेत गरेका छन्। साथीभाइको सामान्य झगडालाई सामाजिक सञ्जालमा ल्याएर सार्वजनिक रोइलो गरेपछि उनीहरू दुवैको चर्को आलोचना भएको हो। दुवैले आफ्नो अडान नछाडेपछि भ्युज कमाउनकै लागि मनपरी बोलेको आरोप पनि लागिरहेको छ।

सामाजिक सञ्जालमा यस्ता गलत प्रवृत्ति मौलाइरहँदा पनि टिकटकमा विकृति फैलाउनेहरूलाई प्रहरीले नियन्त्रणमा लिन नसकेको भन्दै धेरैले दुःख व्यक्त गरेका छन्। सचेत नागरिक भएर के बोल्ने र के गर्ने भन्ने न्यूनतम ज्ञानसमेत नराखिएको टिप्पणी सामाजिक सञ्जालमा देख्न सकिन्छ।

प्रहरी निकायसँग यस विषयमा बुझ्दा साइबर ब्युरोमा समेत उजुरी परेको र हाल घटनाको अध्ययन भइरहेको जानकारी दिएको छ। सामाजिक सद्भाव भड्काउने कुनै पनि अभिव्यक्ति स्वीकार्य नहुने भन्दै प्रहरीले यस्ता गलत अभिव्यक्ति दिनेहरूमाथि निगरानी राख्ने र आवश्यक परे नियन्त्रणमा लिने तयारीमा रहेको जनाएको छ।