Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

अहिलेका नेताहरुलाई महाबिर पुनको व्यंग्य ,भन्छन् भएन अब मै अघि बढ्छु।

अहिलेका नेताहरुलाई महाबिर पुनको व्यंग्य ,भन्छन् भएन अब मै अघि बढ्छु।

काठमाडौँ । सिधा र सरल ढंगले प्रतिक्रिया दिने शिक्षामन्त्री महावीर पुनका भनाइहरू प्रायः चाखलाग्दा हुने गरेका छन्। हरेक विषयवस्तुमा उनले सहज र स्पष्ट रूपमा आफ्नो धारणा राख्ने गर्छन्। शनिबार साँझ सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै शिक्षामन्त्री पुनले अहिलेको समय सबै जुटेर अघि बढ्नुपर्ने बताएका छन्।

उनले पछिल्लो समय युवा नेताहरूमा देखिएको पदीय झगडाप्रति व्यंग्य गर्दै फेरि पुरानै नेताहरूको जस्तै व्यवहार देखिन थालेको टिप्पणी गरेका छन्। मन्त्री पुनले युवा नेताहरूलाई मिलेर अघि बढ्न र एक–अर्काको खुट्टा तान्ने काम नगर्न आग्रह गरेका हुन्।

पछिल्लो समय युवा नेताहरूबीच प्रधानमन्त्री पदका लागि भइरहेको खुट्टा तानातानको प्रवृत्तिले आफ्नो खुट्टामा आफैँ बन्चरो हानेसरह हुने मन्त्री पुनको भनाइ छ। फेसबुक स्ट्याटसमा उनले लेखेका छन्,

“ढङ्ग पटक्कै आएन हाउ। प्रधानमन्त्री पदका लागि युवा नेता भाइहरू किन तानातान गरिरहेका छौ हाउ लाखे ? यो त पुरानै वृद्ध नेताहरूको जस्तै पारा भयो नि। आफ्नो खुट्टामा आफैँ बन्चरो नहानौँ त। यो फुटेर होइन, जुटेर नगई नहुने समय हो। मिलेर काम गर भाइ हो।”

जेन्जी आन्दोलनपछि राजनीतिमा होमिएका महावीर पुन हाल शिक्षा क्षेत्रका विकृति हटाउन सक्रिय छन्। उनले शिक्षा नीतिमा सुधार ल्याउने उद्देश्यसहित पहल गरिरहेका छन्। पछिल्लो समय देशको अवस्था शिक्षामन्त्रीले भनेजस्तै बन्दै गएको धेरैको बुझाइ छ।

जनताले आशा गरेका नयाँ अनुहारहरू पनि सत्तामा पुगेपछि पदकै लागि लडिरहेको देखिन थालेपछि मन्त्री पुनले यस्तो व्यंग्यात्मक स्ट्याटस लेखेको विश्लेषण गरिएको छ। जेन्जीका माग पूरा गर्ने वाचा गर्दै राजनीतिमा प्रवेश गरेका युवा नेताहरू नै आपसमा होडबाजीमा उत्रिएपछि उनको टिप्पणीलाई समयसापेक्ष र अर्थपूर्ण रूपमा हेरिएको छ।