काठमाडौँ । दाङमा आज दिउँसो यात्रुवाहक बस दुर्घटनामा परेर आठ जना यात्रु घाइते भएका छन्। घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका–१६ रावतगाउँ चोकमा बस अनियन्त्रित भई दुर्घटना भएको हो।
घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ००३१ नम्बरको बस दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिए। उनका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ।
घाइते सबैलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका लागि भर्ना गरिएको छ। हालसम्म घाइतेहरूको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। बस आज दिउँसो करिब १२:३० बजे दुर्घटना भएको र घटनाबारे थप अनुसन्धान भइरहेको छ।