Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

दाङमा रास्वपाको पावरफुल इन्ट्री : सहमहामन्त्री विपिन आचार्य र सञ्चारकर्मी भोजराज थापाको प्रत्यक्ष चुनावी तयारी

दाङमा रास्वपाको पावरफुल इन्ट्री : सहमहामन्त्री विपिन आचार्य र सञ्चारकर्मी भोजराज थापाको प्रत्यक्ष चुनावी तयारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सह–महामन्त्री विपिन कुमार आचार्यले नेपाली राजनीतिमा साहसिक कदम चालेका छन्। समानुपातिक बन्दसूचीको पहिलो नम्बरमा रहेको आफ्नो नाम फिर्ता लिँदै आचार्यले प्रत्यक्ष निर्वाचनको चुनौतीपूर्ण बाटो रोजेका हुन्।

“पर्दा पछाडि बसेर मात्र पुग्दैन, बेथिति सफा गर्न अब पर्दा च्यातेर अगाडि आउनै पर्छ,” भन्दै आचार्यले ‘ब्याकफुट’को राजनीति छोडेर ‘फ्रन्ट फुट’मा खेल्ने घोषणा गरेका छन्। उनले भनेका छन्, “सधैं टेकन फर ग्रान्टेड भएर बस्न सकिँदैन, अब देशले विश्वास गर्ने फेस बन्न जरुरी छ।”

विपिन आचार्यलाई प्रत्यक्ष चुनाव लडाउन दाङमा रास्वपाले नयाँ समीकरण तयार पारेको छ। दाङ क्षेत्र नम्बर २ बाट उम्मेदवारीको तयारीमा रहेका इन्जिनियर अनन्त कुमार घिमिरेले सह–महामन्त्री आचार्यका लागि आफ्नो दाबेदारी फिर्ता लिएका छन्। घिमिरेले आवेदन फिर्ता लिएर आचार्यलाई बाटो खुला गरिदिएपछि दाङको राजनीतिमा नयाँ तरंग पैदा भएको छ।

त्यसैगरी, आचार्यका विश्वासिला पात्र तथा लोकप्रिय सामाजिक अभियन्ता एवं पत्रकार भोजराज थापाले दाङ क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ उम्मेदवारीका लागि आवेदन दिएका छन्। पार्टीको केन्द्रीय राजनीतिमा राम्रो पकड भएका आचार्य र स्वच्छ छवि बनाएका पत्रकार थापाको यो ‘पावरफुल जोडी’ ले दाङका परम्परागत राजनीतिक शक्तिहरूलाई कडा चुनौती दिने देखिएको छ।

भोजराज थापाले आफ्नो गृहजिल्ला दाङ–१ बाट उम्मेदवारी दिएका हुन्। पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका थापाले अस्पतालको बेडबाटै उम्मेदवारी दर्ता गराएको जानकारी दिएका छन्। केही दिनदेखि स्वास्थ्य समस्याका कारण उपचाररत थापा हाल सिभिल अस्पतालमा छन्। उनले सोही अस्पतालको इमर्जेन्सी बेडबाट दाङ–१ बाट उम्मेदवारी दर्ता गराएका हुन्।

पछिल्ला केही महिनायता रवि लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीप्रति खुलेर समर्थन जनाउँदै आएका भोजराज थापाले औपचारिक रूपमा रास्वपा रोजेको बताएका छन्।

अब दाङमा सहमहामन्त्री विपिन आचार्य र पत्रकार भोजराज थापाले ‘घण्टी’ बजाउन सक्लान् कि नसक्लान् भन्ने चासो राजनीतिक वृत्तमा बढ्दै गएको छ।