काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी प्रतिनिधिसभा निर्वाचन रुकुम पूर्वबाट लड्ने औपचारिक घोषणा गरेका छन् । यससँगै लामो समयदेखि चासोको विषय बनेको प्रचण्डको उम्मेदवारीबारेको अन्योल पनि अन्त्य भएको छ । शनिबार रुकुम पश्चिममा आयोजना गरिएको नेकपाको ‘एकता सन्देश सभा’लाई सम्बोधन गर्दै प्रचण्डले आउँदो निर्वाचनमा आफू रुकुम पूर्वबाट उम्मेदवार बन्ने स्पष्ट पारेका हुन् ।
सभालाई सम्बोधन गर्ने क्रममा उनले भने, “अहिलेको चुनाव रुकुमबाटै लड्छु । म पूर्वी रुकुमबाट लड्ने छु ।” साथै उनले रुकुम पश्चिमसँगको सम्बन्धलाई पनि निरन्तरता दिने संकेत गर्दै भने, “पूर्वी रुकुमबाट चुनाव लड्ने भनेपछि पश्चिम रुकुम पनि आइरहन्छु भन्ने तपाईंहरूले बुझिराख्नु भएको छ ।”
प्रचण्डले पश्चिम रुकुमका जनताले देखाएको विश्वास, माया र चाहनाप्रति आफू प्रतिबद्ध रहेको बताए । उनले विकास निर्माणका कामलाई नयाँ ढंगबाट अघि बढाउने, जनताका समस्या सुन्ने र रुकुमवासीको दुःख–सुखमा सधैं सहभागी हुने प्रतिबद्धता जनाए । “रुकुमका जनताको भरोसालाई कहिल्यै कमजोर हुन दिने छैनौं,” उनले भने । यसअघि आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रचण्ड कहाँबाट उम्मेदवार बन्ने भन्ने विषय सार्वजनिक भएको थिएन । पार्टीभित्र र बाहिर दुवै ठाउँमा उनको निर्वाचन क्षेत्रलाई लिएर व्यापक चर्चा थियो । उनलाई पार्टीका आधा दर्जनभन्दा बढी जिल्लाले उम्मेदवार बन्न सिफारिस गरेका थिए । चितवन, गोरखा, कास्की, सिन्धुली, धादिङ र रुकुम पूर्वबाट उनको नाम सिफारिस भएको थियो । प्रचण्डले हरेक निर्वाचनमा निर्वाचन क्षेत्र परिवर्तन गर्दै आएको इतिहास छ । उनले पहिलोपटक २०६४ सालमा भएको संविधानसभा निर्वाचनमा रोल्पा–२ र काठमाडौं–१० बाट उम्मेदवारी दिएका थिए । दुवै क्षेत्रबाट विजयी बनेपछि उनले आफूलाई राष्ट्रिय राजनीतिमा सशक्त रूपमा स्थापित गरेका थिए ।
२०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा उनी काठमाडौं–१० र सिरहा–५ बाट उम्मेदवार बने । यसपटक काठमाडौं–१० बाट पराजित भए पनि सिरहा–५ बाट विजयी हुँदै संविधानसभामा पुनः प्रवेश गरे । संविधान जारी भएपछि २०७४ सालमा भएको पहिलो आम निर्वाचनमा उनले गृहजिल्ला चितवन–२ बाट उम्मेदवारी दिए र विजयी बने । त्यसपछि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा भने उनले चितवन छाडेर गोरखा–२ रोजे । त्यहाँबाट पनि उनी विजयी बनेर संसद् पुगे ।
यसपटक फेरि निर्वाचन क्षेत्र परिवर्तन गर्दै प्रचण्डले रुकुम पूर्व रोजेका छन् । रुकुम पूर्व माओवादी आन्दोलनको ऐतिहासिक आधारभूमि मानिन्छ । जनयुद्धकालीन राजनीति र जनसमर्थनका दृष्टिले पनि यो क्षेत्र प्रचण्डका लागि सुरक्षित र प्रतीकात्मक क्षेत्रका रूपमा हेरिएको छ । पार्टीभित्र पनि रुकुम पूर्वबाट उम्मेदवारी दिने विषयमा उनी सकारात्मक रहेको खबर यसअघि नै सार्वजनिक हुँदै आएको थियो । शनिबारको घोषणासँगै प्रचण्डको उम्मेदवारी अब औपचारिक रूपमा रुकुम पूर्वमा केन्द्रित भएको छ ।