Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रास्वपासँग एकता भंग भएसँगै समानुपातिक निर्वाचनबाट बाहिरियो उनेपा

रास्वपासँग एकता भंग भएसँगै समानुपातिक निर्वाचनबाट बाहिरियो उनेपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता प्रक्रियामा अन्तिम समयमा असहमति जनाउँदै अलग भएको उज्यालो नेपाल पार्टी आगामी प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीबाट बाहिरिने निश्चित भएको छ । निर्वाचन आयोगमा छुट्टै बन्दसूची दर्ता नगरेपछि उज्यालो नेपाल पार्टी समानुपातिकतर्फ उम्मेदवारविहीन बन्न पुगेको हो । 

निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फको बन्दसूची बुझाउने अन्तिम म्याद गत पुस १४ गते सकिइसकेको छ । सोही दिन रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकतासम्बन्धी सहमति कायम रहेको अवस्थामा रास्वपाको तर्फबाट बन्दसूची बुझाइएको थियो । उक्त सूचीमा उज्यालो नेपाल पार्टीको कोटाबाट १४ जना उम्मेदवार समावेश थिए । तर अहिले दुवै दलबीचको एकता प्रक्रिया भंग भएसँगै उज्यालो नेपाल पार्टी दलका रूपमा निर्वाचनमा जाने निर्णयमा पुगेको हो ।

तर, एकता भंग भइसकेपछि पनि उज्यालो नेपाल पार्टीले आयोगमा नयाँ वा छुट्टै समानुपातिक बन्दसूची बुझाउन नपाएकाले अब यो पार्टी समानुपातिक निर्वाचन प्रणालीबाट स्वतः बाहिरिएको आयोग स्रोतले जनाएको छ । आयोगका एक पदाधिकारीका अनुसार, “समानुपातिक बन्दसूची बुझाउने समय सकिइसकेको छ । अब उज्यालो नेपाल पार्टीका तर्फबाट समानुपातिक उम्मेदवार रहने कानुनी आधार छैन ।” 
उनका अनुसार रास्वपाको बन्दसूचीमा समावेश भएका उज्यालो नेपाल पार्टीका उम्मेदवारहरू पार्टी विभाजनपछि दुई विकल्पमा सीमित भएका छन् । “उनीहरू या त रास्वपामै रहने निर्णय गर्नुपर्छ, वा पुस २८ गतेभित्र व्यक्तिगत रूपमा नाम फिर्ता लिनुपर्छ,” ती पदाधिकारीले भने, “यदि नाम फिर्ता लिइयो भने रास्वपाले आफ्नो बन्दसूचीमा नयाँ नाम थप्न पाउँछ । तर उज्यालो नेपाल पार्टीका तर्फबाट भने समानुपातिक उम्मेदवार रहने अवस्था हुँदैन ।”

यसैबीच उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले समानुपातिकतर्फ उम्मेदवार नहुने अवस्थालाई स्वीकार्दै प्रत्यक्ष निर्वाचनमा केन्द्रित हुने संकेत दिएका छन् । शनिबार मात्रै अध्यक्षमा चयन भएका घिसिङले देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने घोषणा गरिसकेका छन् । उनले पार्टीलाई नयाँ राजनीतिक विकल्पका रूपमा स्थापित गर्ने लक्ष्यका साथ प्रत्यक्ष निर्वाचनमा आक्रामक उपस्थिति जनाउने बताएका छन् ।

समानुपातिकबाट बाहिरिनु पार्टीका लागि चुनौतीपूर्ण भए पनि त्यसलाई राजनीतिक कमजोरीको रूपमा नलिइने घिसिङको भनाइ छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले यसबारे भने, “हामीले सकेसम्म मिलाउने प्रयास ग¥यौँ, तर परिस्थितिवश सम्भव भएन । अब प्रत्यक्षतर्फ मात्रै उम्मेदवार खडा गरेर जनतामाझ जानेछौँ ।” राजनीतिक विश्लेषकहरूका अनुसार समानुपातिक निर्वाचनबाट बाहिरिनु उज्यालो नेपाल पार्टीका लागि संगठनात्मक र प्रतिनिधित्वको हिसाबले ठूलो धक्का हो । 
समानुपातिक प्रणालीले साना तथा नयाँ दललाई संसद्मा उपस्थिति जनाउने अवसर दिने भएकाले उक्त अवसर गुम्नु पार्टीका लागि चुनौतीपूर्ण बन्ने देखिन्छ  ।