Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बाघ गणनामा अवरोध, चितवन निकुञ्जका सात क्यामरा नष्ट वा हराए

बाघ गणनामा अवरोध, चितवन निकुञ्जका सात क्यामरा नष्ट वा हराए

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जमा जारी बाघ गणनाका क्रममा प्रयोग गरिएका सातवटा क्यामरामा क्षति पुगेको छ। पुस ३ गतेदेखि सुरु गरिएको गणनाअन्तर्गत राखिएका क्यामरामध्ये पाँचवटा हराएका छन् भने दुईवटा क्यामरा हात्तीले फुटाएको निकुञ्जले जनाएको छ।

निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार थुम्सी क्षेत्रबाट तीनवटा र तमासपुर क्षेत्रबाट दुईवटा क्यामरा हराएका हुन्। टाइगर टप्स क्षेत्रमा जडान गरिएका दुई क्यामरा भने हात्तीले क्षति पुर्‍याएको उनले जानकारी दिए। बाघ गणनाका लागि करिब २८६ ग्रिडमा क्यामरा जडान गरिएको थियो।

पहिलो चरणको गणना सम्पन्न गरी क्यामरा संकलन गर्ने क्रममा क्षति र हराउने घटना भएको निकुञ्जले जनाएको छ। चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटै ब्लक बनाएर गणना अघि बढाइएको हो। पहिलो चरणमा त्रिवेणी, अमलटारी, कसरा हुँदै बरणडाभार क्षेत्र समेटिएको थियो।

हाल दोस्रो चरणको बाघ गणना सुरु भइसकेको छ। यस चरणमा १३ क्याम्पमार्फत सौराहा, खगेन्द्रमल्ली, लोथर–प्रतापपुर, हर्दा, बोटे सिमारा, स्वमेश्वर, बगई, अम्बुवा हुँदै शिकारी बास क्षेत्रसम्म क्यामरा जडान गरिएको छ। यस भागलाई ३३६ ग्रिडमा विभाजन गरी १५० गणक परिचालन गरिएको छ। प्रत्येक चरणमा दुई साता क्यामरा राखेर गणना गरिने थापाले बताए।

चितवन–पर्सा ब्लकमा कुल ९५८ ग्रिड बनाएर बाघ गणना भइरहेको छ। यसअघि सन् २०२२ मा गरिएको गणनामा नेपालमा ३५५ वयस्क बाघ रहेको तथ्याङ्क सार्वजनिक भएको थियो, जसमा चितवनमा १२८ बाघ भेटिएका थिए।