Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

विराटनगरमा चिया पसल आडमा गाँजाको कारोबार, तीन जना पक्राउ

विराटनगरमा चिया पसल आडमा गाँजाको कारोबार, तीन जना पक्राउ

काठमाडौँ । चिया र नास्ता बेच्ने पसलभित्रै लागुऔषध लुकाएर कारोबार हुँदै आएको खुलासा भएपछि विराटनगर महानगरपालिका–१५ बाट प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। नेपाल–भारत सीमा क्षेत्र नजिक सञ्चालन भइरहेको उक्त पसलमा गाँजा बिक्री भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रानीको टोलीले बिहीबार साँझ छापा मारेको हो।

इन्स्पेक्टर कविन राईको नेतृत्वमा खटिएको टोलीले पसल खानतलासी गर्दा भित्रको खाटमुनि सेतो प्लास्टिकका सात वटा पोका सेतो टेपले बेरेर लुकाइराखिएको अवस्थामा गाँजा फेला पारेको मोरङ प्रहरीले जनाएको छ। डिजिटल तराजुमा तौल गर्दा बरामद गाँजा सात किलो १८० ग्राम रहेको छ।

मनोज साहको घरमा सटर भाडामा लिएर भारत बिहारकी ४५ वर्षीया कविता यादवले पसल सञ्चालन गर्दै आएकी थिइन्। पसलबाट ससाना खाली प्लास्टिक प्याकेटसमेत भेटिएपछि गाँजाको खुद्रा बिक्री भइरहेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

गाँजासहित पसल सञ्चालक यादव, उनका २८ वर्षीय छोरा मुन्नाकुमार यादव र जहदा गाउँपालिका–१ का १९ वर्षीय मञ्जितकुमार यादव पक्राउ परेका छन्। साथै, घटनास्थलमा रहेको बीआर ३८ क्यू ८९३६ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।