काठमाडौँ । तिलोत्तमा नगरपालिकामा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
बिहीबार दिउँसो तिलोत्तमा नगरपालिका–२ तपाहा लाइनस्थित सडकमा लु ६१ प ५८७८ र लु ६८ प ५२३६ नम्बरका मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको हो।
दुर्घटनामा लु ६८ प ५२३६ नम्बरको मोटरसाइकल चालक सैनामैना नगरपालिका–१ सादभोद्र बस्ने २८ वर्षीय जीवन चौधरी गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि बुटवलस्थित चौराहा अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा अर्को मोटरसाइकलमा सवार दुई जना र चौधरीले चलाएको मोटरसाइकलमा पछाडि सवार एक जना गरी तीन जना घाइते भएका छन्। घाइते तीनै जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ।