काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक शुरु हुनुअघि सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेतासँग छलफल सुरु गरेका छन्। बैठक आज अपरान्ह ४ बजे बस्नेछ।
एक नेताका अनुसार, “पार्टीमा अवस्था राम्रो देखिएको छैन। हामी सभापतिजीको निवासमा छलफलमा छौं। विवादबारे केन्द्रीय कार्यसम्पादन समितिबाट कुनै निर्णय लिनुपर्ने हुनसक्छ।”
पुस २७ र २८ गते विशेष महाधिवेशन आह्वान गर्ने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको कदममाथि गम्भीर समीक्षा हुने पनि भनिएको छ। सभापतिले “केन्द्रीय समितिले नियमित महाधिवेशन मिति तोकेको अवस्थामा विशेष महाधिवेशनको रडाको व्यवस्थापन उचित भएन” भन्ने कुरा व्यक्त गरेको नेताले बताए।
यसबीच, महामन्त्रीद्वयले बुधबार विशेष महाधिवेशन आह्वान गर्ने संयुक्त विज्ञप्ति जारी गरेका छन्। महाधिवेशन प्रतिनिधि जिल्ला–जिल्लाबाट काठमाडौँ आउने क्रम जारी छ भने संस्थापन पक्षले पुस २७ युवा भेला र २८ गते जिल्ला सभापतिको भेला बोलाउने तयारी गरिरहेको छ।