Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

खेलकुदमन्त्री बब्लु गुप्ता विवादमा, फर्जी आयोजक र नक्कली निम्तोपत्र बनाएर अमेरिका जान लागेको आरोप

खेलकुदमन्त्री बब्लु गुप्ता विवादमा, फर्जी आयोजक र नक्कली निम्तोपत्र बनाएर अमेरिका जान लागेको आरोप

काठमाडौँ । जेन–जी समुदायको प्रतिनिधित्व गर्दै युवा तथा खेलकुदमन्त्री बनेका बब्लु गुप्ता अमेरिका उड्ने भएका छन्। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहका सहयोगीका रूपमा राजनीतिमा उदाएका मन्त्री गुप्ता अमेरिका जान लागेका हुन्।

तर, राजधानी दैनिकले भने ‘नक्कली निम्तो अनुमोदन गराएर दलबलसहित अमेरिका उड्दै मन्त्री गुप्ता’ शीर्षकमा समाचार प्रकाशित गरेको छ। सो समाचारमा युवा तथा खेलकुदमन्त्री गुप्ताले फर्जी आयोजक र नक्कली निम्तोपत्र देखाएर अमेरिका भ्रमण स्वीकृत गराएको आरोप लगाइएको छ।

नेपाल सरकार, अमेरिकामा रहेको नेपाली दूतावास वा अमेरिकी सरकारको कुनै पनि आधिकारिक अभिलेखमा नभएको आयोजक देखाई मन्त्रीको हैसियतमा मन्त्रिपरिषद्बाट भ्रमण स्वीकृत गराउनु अनियमित र गैरजिम्मेवार कार्य भएको भन्दै विरोध सुरु भएको छ। मन्त्री गुप्तालाई आगामी माघ ३ गते अमेरिकामा आयोजना हुने ‘जेन–जी क्रान्तिपछिको नेपालको विकासमा एनआरएनए युवाको भूमिका’ विषयक कार्यक्रममा सहभागी हुन अनुमति प्रदान गरिएको जनाइएको छ।

गत पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकले गुप्तालाई अमेरिका जान स्वीकृति दिएको हो। यसैबीच, मन्त्री पदमा बसेर पनि भित्रभित्रै राजनीतिक गतिविधिमा सक्रिय रहेको आरोप उनीमाथि लाग्न थालेको छ। यस्ता आरोपलाई खण्डन गर्दै उनले आफू हाल कुनै पनि राजनीतिक दलको सदस्य नरहेको दाबी गर्दै आएका छन्।

तर, मन्त्री गुप्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चुनाव लड्न लागेको चर्चा चलेपछि प्रधानमन्त्रीले उनको पनि राजीनामा मागेको विषय बाहिरिएको थियो। गुप्ताले भने आफू रास्वपा वा अन्य कुनै दलको सदस्यता नलिएको र कसैको झण्डा बोकेर नहिँडेको स्पष्ट पारेका छन्।

सरकारका केही मन्त्री राजनीतिक गतिविधिमा संलग्न रहेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीले उनीहरूलाई राजीनामा दिन निर्देशन दिएकी थिइन्। तर, प्रधानमन्त्री कार्कीकै अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले भने मन्त्री गुप्तालाई अमेरिका भ्रमणको अनुमति दिएको हो।

यद्यपि, मन्त्री गुप्ताको सचिवालयले भने अमेरिका जाने–नजाने विषयमा अझै टुंगो नलागेको बताएको छ। सचिवालयका अनुसार मन्त्रीले भिसाका लागि अहिलेसम्म आवेदनसमेत नदिएको दाबी गरिएको छ।

मन्त्री गुप्ता बालेन शाह र रवि लामिछानेलाई मिलाउने भूमिकामा सक्रिय रहेको बताइन्छ। साथै, कुलमान घिसिङको ‘उज्यालो नेपाल’ अभियानलाई रास्वपामा विलिन गराउने प्रयासमा पनि उनी संलग्न रहेको चर्चा छ। रास्वपाको उपसभापति पाउने गरी समाहित भएका उज्यालो नेपालका संरक्षक कुलमान घिसिङले भने गएराति राजीनामा दिएका छन्।

कुलमानको राजीनामापछि मन्त्री गुप्तासहित सरकारका प्रवक्ता जगदीश खरेलमाथि पनि राजीनामाको दबाब बढेको छ। यसैबीच, युवराज सफलले मानव तस्करी तथा नक्कली आयोजक देखाएर अमेरिका जान खोजेको आरोप लगाउँदै कथित युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दर्ता गरेको बताएका छन्।

सफलले बालेनका साथी तथा रास्वपाको घण्टी बजाउने व्यक्ति भन्दै गुप्ताले नक्कली निमन्त्रण पत्र बनाएर आफ्नो सचिवालयका सदस्यलाई अमेरिका लैजान खोजेको आरोप लगाएका छन्। उनले अमेरिकाबाट प्राप्त भएको आधिकारिक पत्रको अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न र मन्त्रिपरिषद् बैठकले गरेको निर्णयको पनि सूक्ष्म अनुसन्धान गर्न माग गरेका छन्।