काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र पूर्वमन्त्री कुलमान घिसिङले अझै कम्तीमा २० वर्षसम्म कुनै पनि निर्वाचन नजित्ने दाबी गरेका छन् । काठमाडौंमा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन (नेपोन) ले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै ओलीले ती नेताहरूप्रति लक्षित कडा टिप्पणी गरेका हुन्।
ओलीले मुलुकमा निर्वाचन भए एमालेले नै जित्ने दाबी गर्दै एमाले र कांग्रेस चुनाव जित्छन् भन्ने कारणले निर्वाचन नगराउने हल्ला फैलाइएकोप्रति आपत्ति जनाए। उनले निर्वाचन लोकतन्त्रको आधार भएको उल्लेख गर्दै कुनै व्यक्ति वा समूहको जित–हारको अनुमानका आधारमा चुनाव गराउने वा नगराउने भन्ने कुरा अस्वीकार्य भएको बताए। “चुनाव भयो भने हामी सहभागी हुन्छौँ र चुनाव जित्छौँ,” ओलीले भने, “म सुन्दै आएको छु– एमाले–कांग्रेसले जित्ने भए चुनाव नगराउने रे, अनि फलानाले जित्ने भए मात्रै गराउने रे। ती फलाना–फलानाले अब आउँदो २० वर्ष कम्तीमा पनि चुनाव जित्नेवाला छैनन्।”
अध्यक्ष ओलीले पछिल्लो समय केही व्यक्तिहरूलाई अस्वाभाविक रूपमा ठूलो बनाउने प्रयास भइरहेको भन्दै त्यसप्रति पनि कटाक्ष गरे। उनले विशेषगरी काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहतर्फ लक्षित गर्दै कुनै उल्लेखनीय काम नगरेकालाई पनि महान काम गरेको भनेर प्रचार गर्ने प्रवृत्ति देखिएको बताए। “केही पनि काम नगरेको मान्छेलाई महान काम गरेको भनेर भन्ने पक्षमा कोही पनि छैन,” ओलीले भने, “कामका आधारमा मूल्यांकन हुनुपर्छ, प्रचार र हल्लाका आधारमा होइन।” ओलीले सरकार र राज्य संयन्त्रप्रति समेत प्रश्न उठाए। उनले पछिल्लो समय न्यायालयमाथि धम्की आउन थालेको उल्लेख गर्दै यस्तो अवस्थामा निष्पक्ष र सुरक्षित निर्वाचन कसरी सम्भव हुन्छ भन्ने प्रश्न सरकारसँग गरे।
“न्यायालयसम्म धम्की आउन थालेको अवस्थामा निर्वाचन कसरी गरिन्छ ?” ओलीले प्रश्न गरे। उनले सरकार निर्वाचनको तयारी र लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउनुभन्दा अन्यत्र ध्यान दिइरहेको आरोप पनि लगाए।
कार्यक्रममा बोल्दै ओलीले एमाले संगठनात्मक रूपमा मजबुत रहेको र आगामी कुनै पनि निर्वाचनका लागि पूर्ण रूपमा तयार रहेको दाबी गरे। उनले जनताको मत र समर्थन एमालेतर्फ नै केन्द्रित हुने विश्वास व्यक्त गर्दै पार्टीलाई कमजोर देखाउने प्रयास असफल हुने बताए। ओलीका अनुसार राजनीतिक स्थायित्व, विकास र राष्ट्रिय हितको रक्षा एमालेबाट मात्र सम्भव छ। ओलीको यो अभिव्यक्तिलाई पछिल्लो समय उदाउँदै आएका वैकल्पिक राजनीतिक शक्ति र स्वतन्त्र पहिचान बनाएका नेताहरूप्रति लक्षित सन्देशका रूपमा हेरिएको छ।