Shares
Shares
काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच चुनावी तालमेल नहुने भएको छ। यसअघि यी दलहरूबीच सिट बाँडफाँटको सहमति भइसकेको बताइएको थियो।
यस विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता समेत भएको थियो। कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकले एमाले र नेकपाका नेताहरूसँग घनिभूत छलफल गरेपछि चार दल एक ठाउँमा आउने अवस्था बनेको थियो।
सहमति अनुसार १८ सिटमध्ये कांग्रेसले ७, एमालेले ७, नेकपाले ३ र जनता समाजवादी पार्टी (जसपा) ले १ सिट पाउने तय भएको थियो। तर, चुनावी तालमेलका लागि नेकपाले मतभारका आधारमा कम्तीमा चार सिट दाबी गरेपछि सहमति भंग भएको हो।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा मंगलबार राति अबेरसम्म भएको छलफलमा भागबण्डा नमिलेपछि नेकपा बाहिरिएको हो। नेकपा सहभागी नभएपछि कांग्रेस, एमाले र जसपाबीच १८ सिटमा कांग्रेसले ९, एमालेले ८ र जसपाले १ सिट पाउने गरी नयाँ सहमति भएको छ।
आउँदो माघ ११ गते राष्ट्रिय सभाका १८ सदस्यको निर्वाचन हुनेछ भने एक जना सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनेछन्। २०७६ सालमा सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित सदस्यहरूको कार्यकाल सकिन लागेको हो, जसमा कांग्रेसका भने कोही सदस्य छैनन्।
राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका पदाधिकारी मतदाता हुन्छन्। प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तहका पदाधिकारीको मतभार १९ रहेको छ। न्यून मतभार भएका राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलगायतका दलहरू राष्ट्रिय सभा निर्वाचनमा प्रतिस्पर्धामा उत्रिने मुडमा देखिएका छैनन्।
यता, कांग्रेसले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि गरेको उम्मेदवार चयनप्रति पार्टीका दुवै महामन्त्रीले असन्तुष्टि जनाएका छन्। महामन्त्री विश्वप्रकाश शर्माले उम्मेदवार चयनका लागि मंगलबार र बुधबार बोलाइएका कार्यसम्पादन समितिका बैठक बहिष्कार गरेका छन् भने अर्का महामन्त्री गगन थापाले उम्मेदवार चयनको विषयमा फरक मत राखेका छन्।
आज बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकमा तालमेल र उम्मेदवार छनोटका विषयमा असहमति जनाउँदै महामन्त्री थापाले आफ्नो फरक मत राखेको बताएका छन्।
यसैबीच, नेपाली कम्युनिस्ट पार्टीले पनि आफ्ना उम्मेदवारहरू चयन गरेको छ। कांग्रेस–एमाले गठबन्धनको प्रयास असफल भएपछि नेकपाले सबै सिटमा उम्मेदवार चयन गरेको हो। नेकपाले गण्डकी प्रदेशमा एक सिट खाली छाड्दै १७ जना उम्मेदवार मात्र चयन गरेको जनाएको छ।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209