Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बालेन रास्वपाको वरिष्ठ नेता

बालेन रास्वपाको वरिष्ठ नेता

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय नेतृत्वमा प्रवेश गरेका छन् । आइतबार साँझ बसेको रास्वपा केन्द्रीय समितिको बैठकले बालेनलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो। 

पार्टीका प्रवक्ता मनिष झाले बैठकको निर्णय सार्वजनिक गर्दै बालेन अब दलीय राजनीतिमा सहभागी भएको जानकारी दिए । यसअघि स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौँ महानगरपालिकाको मेयर निर्वाचित भएका बालेन अब रास्वपाको नेतृत्व तहमा आबद्ध भएसँगै राष्ट्रिय राजनीतिमा उनको भूमिका थप सशक्त बन्ने अपेक्षा गरिएको छ। केन्द्रीय समितिको बैठकमा महामन्त्री कविन्द्र बुर्लाकोटीले बालेनलाई ‘वरिष्ठ नेता’को रूपमा सम्बोधन गर्दै पार्टीमा स्वागत गरेका थिए। यसले पार्टीभित्र बालेनलाई विशेष भूमिकामा राखिएको संकेत गरेको छ।

प्रवक्ता झाका अनुसार, उक्त बैठकले बालेनसहित कुल २६ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो। रास्वपासँग भएको सहमतिअनुसार बालेन समूहबाट केन्द्रीय सदस्य बनेका नेताहरूलाई पार्टीको कार्यसम्पादन तहमा जिम्मेवारीसमेत दिइने सहमति भएको बताइएको छ। रास्वपा सभापति रवि लामिछाने र काठमाडौँका मेयर बालेनबीच पुस १३ गते पार्टी एकताको सहमति भएको थियो। सोही सहमतिलाई कार्यान्वयन गर्ने क्रममा आइतबार बसेको केन्द्रीय समितिको बैठकले समायोजन प्रक्रिया अघि बढाएको हो।

 बैठकमा लामिछाने स्वयंले मनोनित केन्द्रीय सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ खुवाएका थिए। मनोनित भएका केन्द्रीय सदस्यहरूमा सुनिल लम्साल, भुवदेव शाह, अस्मित पोखरेल, सागर ढकाल, लक्ष्मण थारू, रमेश पौडेल, खगेन्द्र सुनार, गणेश गुरुङ, सन्तोष गिरी, डा. नमिता यादव, शिव यादव, रोहन कार्की, अनन्तराज घिमिरे, रामकुमार ढुंगाना, प्रदीप ज्ञवाली, जेम्स कार्की, मधुसुदन ढकाल, ओजस्वी थापा, केपी खनाल, आदित्य आचार्य, प्रदीप पाण्डे र खेमराज साउद रहेका छन्।

स्वतन्त्र छविका कारण चर्चामा रहेका बालेनको रास्वपा प्रवेशलाई समसामयिक नेपाली राजनीतिमा महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ। स्थानीय तहमा देखाएको सक्रियता, कडाइ र प्रशासनिक सुधारका प्रयासका कारण लोकप्रियता कमाएका बालेन अब दलीय राजनीतिमार्फत राष्ट्रिय तहमा आफ्नो प्रभाव विस्तार गर्ने दिशामा अघि बढेको विश्लेषण गरिएको छ। रास्वपाले पनि बालेनको प्रवेशलाई पार्टी विस्तार र शहरी मतदातासँगको सम्बन्ध मजबुत बनाउने अवसरका रूपमा लिएको देखिन्छ।