Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सेरममा विद्यार्थी बोकेको बोलेरो पल्टिँदा दुईको मृत्यु, ९ जना उपचाररत

सेरममा विद्यार्थी बोकेको बोलेरो पल्टिँदा दुईको मृत्यु, ९ जना उपचाररत

काठमाडौँ । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित गाम खोलानजिक विद्यार्थी बोकेको बोलेरो जिप दुर्घटनामा परेर दुई जना विद्यार्थीको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्। गएराति करिब १० बजे सेरमबाट सिउरीतर्फ जाँदै गरेको ग १ ज ६६६६ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकमै पल्टिँदा दुर्घटना भएको हो।

जिप लुंग्री गाउँपालिका–७ हर्जाङ छोपेका २५ वर्षीय मनसुर घर्तीले चलाइरहेका थिए। नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी सवार जिप दुर्घटनामा पर्दा घाइते भएका सबैलाई तत्काल प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर लगिएको थियो। उपचारका क्रममा आज बिहान सुनिल वि.क. र दिपा पुनलाई चिकित्सकले मृत घोषणा गरेका छन्।

अन्य घाइतेहरूमा हिमाल वि.क., अमृता पुन, जमुना वि.क., अस्मिता वि.क., पवित्रा पुन, शनि वि.क., विपना घर्तीमगर, किसन घर्तीमगर र हस्तिरा वि.क. रहेका छन्। उनीहरूको सुलिचौरमै उपचार भइरहेको छ भने थप उपचारका लागि लुम्बिनी सिटी अस्पताल, बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय पोवाङबाट प्रहरी टोली खटिएको थियो। जिप चालक प्रहरी नियन्त्रणमा छन् र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिनुभएको छ।