Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

डोल्पा प्रहरी चौकी आक्रमण प्रकरण: सम्पर्कविहीन भनिएका प्रहरी फेला, छानबिन समिति गठन

डोल्पा प्रहरी चौकी आक्रमण प्रकरण: सम्पर्कविहीन भनिएका प्रहरी फेला, छानबिन समिति गठन

काठमाडौँ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ स्थित करोपगार्ड इलाका प्रहरी कार्यालयमा भएको तोडफोड घटनापछि सम्पर्कविहीन भनिएका प्रहरीहरू सुरक्षित अवस्थामा सम्पर्कमा आएको प्रशासनले स्पष्ट पारेको छ। प्रमुख जिल्ला अधिकारी भीमराज कोइरालाका अनुसार हातहतियार सुरक्षित राख्ने उद्देश्यले केही प्रहरी अस्थायी रूपमा सुरक्षित स्थानमा बसेका थिए र अवस्था सामान्य भएपछि शनिबार राति नै सम्पर्कमा आएका हुन्।

घटना शुक्रबार ल्हाँ गाउँका ३४ वर्षीय जुन रोकाया प्रहरी चेकिङका क्रममा ठूलीभेरी नदीमा बेपत्ता भएपछि चर्किएको हो। शनिबार साँझ आक्रोशित स्थानीयवासीले प्रहरी चौकीमाथि आक्रमण गर्दा भौतिक क्षति हुनुका साथै केही प्रहरी घाइते भएका छन्।

प्रहरीका अनुसार लागुऔषध ओसारपसारको आशंकामा छेप्के पुलमा जाँच गर्न खोज्दा रोकाया आफैं नदीमा हामफालेका थिए। तर स्थानीयले भने प्रहरीले लखेट्दा उनी नदीमा खसेको आरोप लगाएका छन्। रोकायाको अवस्था अझै अज्ञात छ र खोजी कार्य जारी छ।

घटनाको छानबिनका लागि कर्णाली प्रदेश प्रहरी कार्यालयका एसपी रामप्रसाद घर्तीमगरको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ। साथै, करोपगार्ड प्रहरी चौकीका सबै १० जना प्रहरीलाई जिल्ला सदरमुकाम तानिएको छ भने घटनासँग प्रत्यक्ष जोडिएका चार जना प्रहरीमाथि अनुसन्धान भइरहेको छ। घटनाको विरोधमा स्थानीयले डोल्पामा अनिश्चितकालीन यातायात बन्द घोषणा गरेका छन्।