काठमाडौँ । चितवनको इच्छाकामना–४ स्थित कुरिनघाट नजिक त्रिशूली नदीमा नुहाउने क्रममा दुई जना युवक बेपत्ता भएका छन्। शनिबार दिउँसोदेखि सम्पर्कविहीन बनेका उनीहरूको खोजी कार्य अझै जारी रहेको चितवन प्रहरीले जनाएको छ।
बेपत्ता हुनेमा बर्दियाको गेरुवा गाउँपालिका–२ बनसरा निवासी २१ वर्षीय शंकर चौधरी र राजापुर नगरपालिकाका २२ वर्षीय सौरभ थारु रहेका छन्। दुवै जना सुपर त्रिशूली हाइड्रोपावरमा कार्यरत कामदार हुन्।
घटनास्थल नजिक नदी किनारमा उनीहरूका कपडा, मोबाइल, चप्पल र लाइटर भेटिएपछि खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरीनघाटबाट गोताखोरसहितको टोली परिचालन गरी आइतबार बिहानदेखि पुनः नदीमा खोजी भइरहेको छ।