Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रास्वपाको कार्यक्रम कुलमान समूहले गर्यो बहिष्कार!

रास्वपाको कार्यक्रम कुलमान समूहले गर्यो बहिष्कार!

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबार पोखरामा गण्डकी प्रदेशस्तरीय सदस्य भेटघाट तथा बृहत् पार्टी प्रवेश कार्यक्रम गर्‍यो ।

यही पुस १४ गते रास्वपाका सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जामन्त्री कुलमान घिसिङबीच ‘बृहत् एकता’को सहमति भएको थियो । त्योभन्दा अगाडि उज्यालो नेपालबाट कुलमानले संगठन विस्तारलाई तीव्रता दिएका थिए ।

उक्त सहमतिपछि कुलमान पनि रास्वपाको नेता बनेका छन् । तीनै पक्षबीच आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक उमेदवारतर्फ भागबन्डा समेत गरिएको छ ।

तर, शनिबार रास्वपाको प्रदेशस्तरीय कार्यक्रममा कुलमान पक्षका नेता–कार्यकर्ता उपस्थित भएनन् । उज्यालो नेपालको संगठन विस्तारमा खटिएकाहरू रास्वपाको कार्यक्रममा देखिएनन् ।

कुलमाननिकट एक नेता भन्छन्, “हाम्रो चाहिँ पुस १४ गतेपछाडि एकताको कुरा भइसकेपछि सबै रोकिएको छ । आन्तरिक काम पनि रोकिएको छ । समायोजनको कुरा छ, कार्यदल बनेको छ, त्यसको कार्यविधि बनिसकेको छैन । त्यो नसकिँदासम्म न यता न उता ।”

पार्टी समायोजन नटुंगिएका कारण रास्वपाको कार्यक्रममा जाने/नजाने भन्नेमा उज्यालो नेपालका नेता–कार्यकर्ता दोधारमा छन् । “भोलि हामी एकीकरण भएर जाने हो । उहाँहरूले आधिकारिक रूपमा खबर पनि गर्नु भएन । अर्को कुरा, उहाँहरूको पूर्वनिर्धारित कार्यक्रम हो । हामी संक्रमणकालमा नै छौँ,” ती नेताले भने ।