काठमाडौँ । गुल्मीको मालिका गाउँपालिकामा आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। विद्यार्थी बोकेर वनभोजका लागि जाँदै गरेको स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।
राम्चेबाट मदाने गाउँपालिका–अन्तर्गत पुर्कोटतर्फ जाँदै गरेको सिद्ध इङ्लिस बोर्डिङ स्कुलको लु प्र ०१–००ख ०३५५ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको लु ९ प ८१५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकलमा सवार मालिका गाउँपालिका–६ मौवाका ३६ वर्षीय वसन्त अर्याल र उनकी ५६ वर्षीया भाउजू मनकला अर्यालको मृत्यु भएको सूचना अधिकारी गंगाबहादुर सारुले जानकारी दिए। घाइते चार जनामध्ये दुई जनालाई गुल्मी अस्पताल तम्घास पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका हुन्।
यस्तै, मृतक मनकलाका ६ वर्षीय नाति अनुभव गिरी र पैदलयात्री मालिका गाउँपालिका–६ राम्चेकी ४१ वर्षीया शिक्षिका लिलावती अर्याल घाइते भएका छन्। गिरीलाई थप उपचारका लागि पाल्पा रिफर गरिएको छ भने शिक्षिका अर्यालको गुल्मी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।