Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

एमाले जाजरकोटलाई धक्का : जिल्ला अध्यक्ष शाही परिवारसहित अमेरिका पलायन

एमाले जाजरकोटलाई धक्का : जिल्ला अध्यक्ष शाही परिवारसहित अमेरिका पलायन

काठमाडौँ । नेकपा (एमाले) जाजरकोट जिल्ला अध्यक्ष नरेन्द्रकुमार शाही परिवारसहित स्थायी बसोबासका लागि अमेरिका पलायन भएका छन्। अमेरिकाको डाइभर्सिटी भिसा (डिभी) परेपछि शाही बिहीबार श्रीमतीसहित परिवारका सदस्य लिएर नेपाल छोडेर अमेरिका गएका हुन् ।

एमालेको जिल्ला नेतृत्व सम्हालिरहेका व्यक्ति नै देश छाडेर स्थायी रूपमा विदेश बस्न गएको भन्दै जाजरकोटको राजनीतिक वृत्तमा तरंग ल्याएको छ । पार्टी संगठनलाई बलियो बनाउने जिम्मेवारीमा रहेका जिल्ला अध्यक्षको विदेश प्रस्थानले एमाले जाजरकोट संगठनलाई गम्भीर संकटतर्फ धकेलेको कार्यकर्ताहरू नै टिप्पणी गर्छन् । शाही पूर्व शिवालय गाउँपालिकाका अध्यक्षसमेत हुन्। उनकी श्रीमती श्री इन्द्रज्योति माध्यमिक विद्यालयमा प्रधानाध्यापक पदमा कार्यरत रहँदै आएकी थिइन्। स्थायी रूपमा अमेरिका बसोबास गर्ने निर्णयसँगै उनले केही दिनअघि मात्रै विद्यालयको प्रधानाध्यापक पदबाट राजीनामा दिएकी थिइन् ।

जिल्ला अध्यक्ष र पूर्व गाउँपालिका अध्यक्षसमेत रहेका व्यक्तिको विदेश पलायनलाई लिएर स्थानीय तहदेखि सामाजिक सञ्जालसम्म तीव्र आलोचना सुरु भएको छ। ‘नेतृत्वमा रहेकाहरू देश छाड्दै गर्दा कार्यकर्ताको भविष्य के?’ भन्ने प्रश्न उठ्न थालेको छ । यता एमाले जाजरकोटका उपाध्यक्ष विश्व विक्रम शाहले जिल्ला अध्यक्ष अमेरिका गएको पुष्टि गरे । उनले अध्यक्षले यहाँ अवसर पाउँदा पाउँदै पनि अमेरिका गएको बताए । साथै उनले अध्यक्ष पदबाट राजीनामा नदिएको तर अमेरिकाको डिभी परेपछि स्वतः पद खारेज भएको बताए । ‘उहाँ अमेरिका जानु भयो । यसमा पार्टीलाई केही समस्या त होला । तर, उहाँ जानुभएको हो पार्टी नै गएको होइन ।,’ उनले भने, ‘यसै पनि म कार्यवाहकमा छु । केही समस्या हुन्न ।,’

यस्तै सचिव गोपाल नेपालीले जिल्ला अध्यक्ष नै अमेरिका जानु खुसी र दुःखद दुवै लागेको बताए । उनले अध्यक्ष अमेरिका गएपछि पार्टीलाई स्वतः केही धक्का लाग्ने बताए । ‘अंग्रेजी नयाँ वर्षसँगको सुरुवातमै उहाँ अमेरिका जानु भयो । उहाँलाई शुभकामना त दिइसके । तर एकातिर खुसी र अर्कोतिर दुःख लागेको छ ।,’ उनले भने, ‘उहाँ अमेरिका गएसँगै अब पार्टीलाई स्वतः केही धक्का लाग्ने नै भयो ।,’