काठमाडौँ । काठमाडौँमा वैदेशिक रोजगारीका लागि आवश्यक कागजात नक्कली बनाउने गिरोह फेला परेको छ। भिसा आवेदनमा पेस गरिएको प्रहरी चारित्रिक प्रमाणपत्रमा कन्सुलर सेवा विभागको स्ट्याम्प नक्कल गरी प्रमाणीकरण गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–६ मा डेरा गरी बस्ने बुढीगंगा नगरपालिका–५ का ३३ वर्षीय पृथ्वीबहादुर थापा र कीर्तिपुर नगरपालिका–९ मा फोटो स्टुडियो सञ्चालन गर्दै आएका पाल्पा रिब्दीकोट गाउँपालिका–८ का २७ वर्षीय सन्तोष पौडेल रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीले लिखतसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौँबाट ७ दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।