Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

मदिरा सेवन गरेर जाजरकोट जुनिचाँदेका उपाध्यक्षले कुटे पालिकाकै कर्मचारी

मदिरा सेवन गरेर जाजरकोट जुनिचाँदेका उपाध्यक्षले कुटे पालिकाकै कर्मचारी

काठमाडौँ । जाजरकोटको जुनिचाँदे गाउँपालिकाका उपाध्यक्ष बीरेन्द्र शाहीले कार्यालय समयमै मदिरा सेवन गरी पालिकाकै कर्मचारीमाथि कुटपिट गरेको आरोप लागेको छ गाउँपालिकामा कार्यालय सहयोगी पदमा कार्यरत लालबहादुर शाहीले उपाध्यक्ष शाहीले कार्यकक्षमै आफूलाई कुटपिट गरी घाइते बनाएको बताएका छन्। उनका अनुसार सेवाग्राहीको काम गरिरहेका बेला मदिरा सेवन गरेर कार्यालय प्रवेश गरेका उपाध्यक्षले अनावश्यक गालीगलौज गर्दै हातपात गरेका हुन्।

पीडित शाहीले कुटपिटबाट आफ्नो कन्चटमा चोट लागेको र पछिल्लो करिब चार–पाँच महिनादेखि उपाध्यक्षबाट निरन्तर धम्की दिइँदै आएको समेत दाबी गरेका छन्। घटनापछि उनले प्रहरी चौकी जुनिचाँदेमा कुटपिटसम्बन्धी जाहेरी दिएका छन्।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुधीर कुमार खड्काले उपाध्यक्ष शाहीविरुद्ध कुटपिटसम्बन्धी जाहेरी दर्ता भएको जानकारी दिए। उनले घटनामा संलग्न व्यक्तिमाथि कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाइने बताए।

यता उपाध्यक्ष शाहीले आफूबाट गल्ती भएको स्वीकार गर्दै सहमति भइसकेको दाबी गरे पनि पीडित कर्मचारीले उक्त सहमति स्वीकार नगरी दोषीमाथि कानुन बमोजिम कारबाही हुनुपर्ने माग गरेका छन्। यसअघि पनि उपाध्यक्ष शाहीले मदिरा सेवन गरेर कर्मचारीलाई कुटपिट गरेको गुनासोहरू आइरहेका थिए।